१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एएफसी कप छनोटको यात्राः तीन क्लबको तीव्र प्रतिस्पर्धा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अबको तीन चरणका खेलमा शीर्षताका लागि साविक विजेता मच्छिन्द्र, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी फुटबल क्लबबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने र एएफसी लाइसेन्स प्राप्त गर्ने चार क्लबमध्ये (मच्छिन्द्र, मनाङ,आर्मी र एपिएफ) एक टोलीले नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोटका लागि योग्य हुने यस अघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाइसकेको छ।

चारमध्ये एपिएफ १४औं स्थानमा छ। चौथो चरणको समाप्तिमा मच्छिन्द्र तीन जित र एक बराबरीको नतिजापछि १० अंकका साथ शीर्षमा छ भने समान खेलबाट तीन जित र एक बराबरीको नतिजा आएपछि मनाङ समान १० अंकसहित दोस्रो स्थानमा छ।

पाँचौं चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदै छ। पाँचौं चरणको पहिलो खेलमा मच्छिन्द्रले शुक्रबार संकटा क्लबको सामना गर्दै छ। ‘शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्नका लागि संकटाविरुद्धको खेल हाम्रा लागि महत्वपूर्ण छ।

यस खेलको नतिजाले कम्तीमा छैटौं चरण अगावै हाम्रो शीर्षता कायम रहनेछ। छैटाैँ चरणमा हामीले मनाङको सामना गर्दैछाैँ। शीर्षताको होडमा हामीसँगै मनाङ पनि छ। त्यसैले एएफसी कपका लागि मनाङविरुद्धको खेल निर्णायक बन्न सक्छ। टोली त्यसका लागि पूर्ण रूपमा तयार छ।’ सातौं चरणमा मच्छिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

त्यस्तै मच्छिन्द्रसँगै शीर्षताको होडमा रहेको मनाङले पाँचौंदेखि आठौं चरणसम्म गरी चारमध्ये तीन खेल घरेलु मैदानको रूपमा रहेको पोखरा रंगशालामा आतिथ्यता प्रदान गर्नेछ। पाँचौं चरणमा शनिबार मनाङले पोखरा रंगशालामा पुलिसको सामना गर्दै छ।

त्यस्तै मनाङले सातौं चरणमा ब्रिगेड ब्वाइज र आठाैँ चरणमा च्यासललाई पनि पोखरा रंगशालामै आतिथ्यता प्रदान गर्नेछ। गत सिजन(२०७६) मा आर्मी अन्तिम खेलमा मच्छिन्द्र क्लबसँग स्तब्ध हुँदै उपविजेतामा सीमित भयो।

तर, एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालको एक मात्र टोली भएकाले आर्मी भाग्यमानी बन्दै एएफसी कप छनोट खेल्दा मच्छिन्द्र निराश बनेको थियो। आर्मीले एएफसी कप छनोटको दोस्रो चरणसम्मको यात्रा गरेको थियो।

आर्मी चार खेलमा दुई जित र दुई बराबरीपछि आठ अंकसहित तेस्रो स्थानमा छ। आर्मीले पाँचौं चरणमा शुक्रबार सातदोबाटो युथ क्लबको सामना गर्दै छ। ‘शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्न प्रत्येक खेलमा तीन अंक जोडेर मात्र पुग्दैन,’आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने,‘त्यसका लागि शीर्ष दुईमा रहेका मच्छिन्द्र र मनाङले पनि अंक गुमाउनु पर्नेछ।’

सातदोबाटोले उत्कृष्ट प्रदर्शन गरिरहेकाले सतर्क भएर खेल्ने न्यौपानेले बताए। ‘सातदोबाटो जारी लिगको नवप्रवेशी टोली भए पनि मैदानमा उनीहरूको प्रदर्शन उत्कृष्ट छ,’न्यौपानेले भने, ‘अग्रपक्तिका साथै रक्षापंक्तिमा पनि सातदोबाटो अब्बल देखिएको छ। उनीहरूविरुद्ध सतर्क भएर खेल्नेछाैँ।

पछिल्ला दुई खेलमा हाम्रो टोलीबाट तीन गोल भएको छ र तीन गोल नै स्ट्राइकरबाट निस्किएको थियो। त्यो हाम्रा लागि सकारात्मक पक्ष हो।’

प्रकाशित: २ पुस २०७८ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App