७ वैशाख २०८१ शुक्रबार
खेल

नर्विचविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमामार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।

रोनाल्डोकै पेनाल्टी गोल निर्णायक बनेपछि राग्निकले जिम्मेवारी समालेयता प्रिमियर लिगमा युनाइटेडलाई दोस्रो सफलता दिलाएका थिए। जितका बावजुद युनाइटेडले खेल अवधिभर निकै संघर्ष गर्नुपर्‍यो।

ओले गनर सोल्सजायरको स्थानमा युनाइटेड आएका राग्निकले आफ्ना खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न नसकेको बताएका छन्। ‘दोस्रो हाफमा हामीले केही राम्रो प्रदर्शन गर्‍यौं। तथापि, क्लिन सिट रहनुमा हामी भाग्यशाली पनि रह्यौं,’ युनाइटेडका प्रशिक्षक राग्निकले भने, ‘तर खेलमा खेलाडीहरू शारीरिक रूपमा कमजोर देखिए।

संघर्षको अवस्थामा उनीहरूको हाउभाउ पनि राम्रो भएन। यो पनि हाम्रा लागि चुनौतीको विषय हो। यसमा पनि हामीले काम गर्नुपर्नेछ।’

गोलकिपर डेविड डी हेयाले केही उत्कृष्ट बचाउ गर्दै युनाइटेडको संघर्षमा बलियो साथ दिए। गत अगस्टमा युभेन्ट्सबाट प्रिमियर लिगमा फर्किएका रोनाल्डोले युनाइटेडका लागि १३औं गोललाई निर्णायक बनाउँदा डी हेयाको प्रदर्शन उत्कृष्ट रह्यो।

यस जितपछि युनाइटेड लिगको अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। जर्मन प्रशिक्षक राग्निक पनि युनाइटेडलाई च्याम्पियन्स लिगको यात्रा सुरक्षित गराउने लक्ष्यमा छन्।

अंकतालिकाको पुछारमा रहेको टोली नर्विचविरुद्ध संघर्षपूर्ण प्रदर्शनले पनि युनाइटेडले कयौं सुधार गर्नुपर्ने देखिएको छ। वाटफोर्डसँग ४–१ को हारपछि सोल्सजायर बर्खास्त भएका थिए। तर, त्यसयता डिफेन्समा भने सुधार देखाएको युनाइटेडले दुईवटा क्लिन सिट राखेको छ।

यसअघि गत हप्ता राग्निकको पहिलो खेलमा भने युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले हराएको थियो तर विपक्षीविरुद्ध युनाइटेडले दबाबपूर्ण खेल देखाउन सकिरहेको छैन। च्याम्पियन्स लिगमा योङ ब्वाइजविरुद्ध बराबरी खेलेपछि युनाइटेडले ११ परिवर्तन गराएको थियो।

अक्टोबरयता मार्कुस रासफोर्डलगायत खेलाडीले गोल गर्न नसक्नुले पनि युनाइटेडको प्रदर्शनमा असर परेको छ। तर, पेनाल्टी अवसर पाउँदा युनाइटेड पुछारको टोलीसँग स्तब्ध भने बन्नुपरेन। खेलको ७५औं मिनेटमा रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दिलाएका थिए,जुन निर्णायक पनि बन्यो। डी बक्सभित्र म्याक्स आरोन्सले रोनाल्डोलाई लडाएपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। मोहम्मद सालाहको एक गोल नै निर्णायक बन्दा लिभरपुलले पनि एस्टन भिल्लामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

भिल्लाको प्रशिक्षकका रूपमा मैदान फर्किएका लिभरपुलका पूर्वखेलाडी स्टेभन जेरार्डको टोलीले चुनौती दिए पनि सफलता भने पाउन सकेन। शीर्ष पाँचमा रहेका लिभरपुलसहित युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी चारै टोलीका लागि जितको आधार पेनाल्टी बन्यो।

सालाहले ६७औं मिनेटमा गरेको गोल नै लिभरपुलको जितको आधार रह्यो। यता, चेल्सीले पनि लिड्सविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्दा दुई पेनाल्टी सदुपयोग गरेको थियो। इन्जुरी समयमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दा चेल्सीले महत्वपूर्ण सफलता पायो।

त्यसअघि खेलको ५८औं मिनेटमा पनि जर्जिन्होले नै पेनाल्टीमा गोल गरेपछि चेल्सीले २–१ को अग्रता लिएको थियो। तर, ८३औं मिनेटमा लिड्सका जोए जेलहार्डले गोल फर्काउँदै चेल्सीमाथि दबाब बनाएका थिए। सिटीले पनि रहिम स्टर्लिङको पेनाल्टी गोल प्रेरणामा उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो। 

प्रकाशित: २७ मंसिर २०७८ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App