७ वैशाख २०८१ शुक्रबार
खेल

मनाङमा जिल्ला लिग फुटबल सुरु

अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुसार मनाङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ। मनाङ फुटबल संघको आयोजना दोस्रो पटक लिग आयोजना गरिएको हो। मनाङमा कोरोना संक्रमण अघि २०७६ सालमै पहिलो पटक जिल्ला लिग आयोजना गरिएको थियो।

मनाङको तिमाङस्थित फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा हिमालयन युवा क्लबले चामे युवा समूहलाई १–० ले पराजित गर्दै लिगको सुखद सुरुवात गर्यो। खेलको २५ औं मिनेटमा कर्ण गुरुङ गोल निर्णायक हुँदा हिमालयनले लिगमा तीन अंक जोड्यो।

प्रतियोगितामा मनाङ फुटबल संघमा आवद्ध ६ क्लबले प्रतिस्पर्धा गरेको मनाङ फुटबल संघका उपाध्यक्ष यज्ञ घलेले जानकारी दिए। उनका अनुसार विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने छ। उपविजेताले २५ हजार रुपैयाँ पाउने छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ।

समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाईमा रहेको तिमाङ खेलकुद मैदानलाई राष्ट्रिय खेलकुद परिषदले हाईअल्टिच्युट खेल मैदानको रुपमा विकास गर्ने लक्ष्य राखेको छ। यो वर्ष मनाङसहित अन्य चार जिल्लामा हाईल्टिच्युट खेल मैदान बनाउन ६० लाख रुपैयाँ विनियोजन भएको छ। मनाङको तिमाङ खेल मैदानकोे १ करोड ४१ लाख रुपैयाँ खर्च गरिएको थियो।  

राष्ट्रिय खेलकुद परिषदबाट ४७ लाख, युवा तथा खेलकुद मन्त्रालयबाट १० लाख, जिल्ला विकास समिति मनाङबाट ६७ लाख ५० हजार, निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत टेकबहादुर गुरुङ मार्फत ९ लाख ५०हजार, पूर्व मन्त्री देवप्रसाद गुरुङले निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत १ लाख, मनाङ मस्र्याङ्दी क्लबले १ लाख ५० हजार, धारापानी गाउँपालिका, धारापानीले ५० हजार, थोंचे गाँउपालिका थोंचेबाट ५० हजार, ताचै बगरछाप गाउँपालिकाबाट ५० हजार, चामे गाँउपालिकाबाट ५० हजार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)बाट ५० हजार रुपैयाँको आर्थिक सहयोगबाट तिमाङ खेलमैदान निर्माण गरिएको हो। मैदान २०७४ सालमा निर्माण गरिएको थियो।

प्रकाशित: १४ मंसिर २०७८ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App