coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितले नेपालको सम्भावना कायम

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा बिहीबार कुवेतमाथि ९९ बलअगावै फराकिलो जित निकाल्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीमा बिहीबार आफ्नो तेस्रो खेलमा कुवेतमाथि ९ विकेटको जित निकालेको नेपालले ग्लोबल चरणमा छनोट हुने सम्भावना कायमै राखेको हो।

कुवेतमाथि फराकिलो जितपछि नेपाल तीन खेलबाट चार अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। तीन खेलबाट शतप्रतिशत नतिजाका साथ ६ अंक बटुलेको आयोजक युएई शीर्षमा छ।

तीन खेलबाट चार अंक जोडेको हङकङको पनि चार अंक नै छ। समान तीन खेलबाट मलेसिया र भुटानले समान दुई अंक जोड्दा तीन नै खेल खेलको कुवेत अंकविहीन छ।

यस छनोटको शीर्ष स्थानमा रहने एक राष्ट्रले ग्लोबल चरणमा स्थान बनाउनेछ। बिहीबार अन्य दुई खेलमा युएईले भुटानलाई ४७ रन र हङकङले मलेसियालाई चार विकेटले हराउँदै ग्लोबल छनोटको सम्भावनामा बलियो चुनौती प्रस्तुत गरेका छन्।

नेपालसहित हङकङ र युएईको मात्र आगामी चरणको यात्रा कायम छ। नेट रनरेटमा नेपाल दुई टोलीका तुलनामा केही बलियो देखिएको छ। कुवेतले प्रस्तुत गरेको २८ रनको झीनो लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्दै आगामी चरणको यात्रा बलियो बनाएको थियो।

इन्दु बर्माले सर्वाधिक १३ रनको अविजित इनिङ खेलिन्। उनले आठ बलमा एक चौका हिर्काइन्। कप्तान रुविना क्षेत्रीले १० बलमा एक चौकासहित अविजित १२ रनको योगदान गरिन्। नेपालले एक मात्र विकेट ओपनर सीता रानामगरको रूपमा गुमायो। अनुभवी ब्याटर सीतालाई शून्यैमा मारिया जस्भीले क्लिन बोल्ड गरिन्। झीनो लक्ष्य रक्षा गर्ने जिम्मेवारी पाएका कुवेती बलरले नेपाललाई खासै चुनौती दिन सकेनन्। त्यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेत नेपालको आक्रामक बलिङसामु निरीह बन्यो।

निर्धारित २० ओभरमा कुवेतले १५.४ ओभरसम्म खेले पनि अलआउट हुनुअघि २७ रन मात्र बनाउन सफल भयो। खराब सुरुआत गरेको कुवेतका ओपनर जिफा जिलानी शून्यैमा पवेलियन फर्किइन्। अर्की ओपनर प्रियादा मुरलीले १० रन बनाइन्। मुरलीले २० बलमा दुई चौका हिर्काइन्। त्यो नै कुवेतका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

मार्‍याम ओमरले १९ बल खेल्दा एक चौकासहित ७ रन जोडिन्। कुवेतको इनिङमा कुल चार बाउन्ड्रीमध्ये एक कप्तान मारियाले प्रहार गरेकी थिइन्। १४ बल सामना गरेकी मारियाले ५ रन जोडिन्।

नेपालका बलरसामु निरीह बनेका कुवेतका सात खेलाडी शून्य रनमै आउट भए। नेपालको बलिङमा संगीता राईले सर्वाधिक तीन विकेट लिँदा करुणा भण्डारी र कप्तान रुविनाले समान दुई विकेट निकाले। सरस्वती कुमारीको नाममा एक विकेट रह्यो। कुवेतले दुई विकेट भने रनआउटका रूपमा गुमाएको थियो। गत मंगलबार भुटानमाथि आठ विकेटले जित निकालेको नेपालले कुवेतमाथि पनि फराकिलो सफलता दोहोर्‍यायो।

यो नतिजाले नेपालका लागि आगामी चरणको यात्रा पनि महत्त्वपूर्ण सावित हुन सक्नेछ। पहिलो खेलमा हङकङसँग ६ विकेटले स्तब्ध भएपछि नेपालका लागि नेट रनरेट आगामी चरणको यात्रामा निर्णायक साबित हुन पनि हुन सक्नेछ। नेपालले आफ्नो चौथो खेल शुक्रबार नै मलेसियासँग खेल्नेछ।

प्रकाशित: १० मंसिर २०७८ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App