६ वैशाख २०८१ बिहीबार
खेल

बेन्जेमालाई कारावास सजाय

फ्रान्सको एक अदालतले टोली सहयात्री म्याथु भ्यालबुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा दोषी पाइएको भन्दै रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमामाथि १ वर्षको जेल सजाय तथा ७५ हजार युरो जरिवाना हुने भएको छ।

यही घटनामा मुछिएपछि बेन्जेमा साढे ५ वर्ष फ्रान्सको राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए। यसै वर्ष सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० सँगै बेन्जेमाले फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। २०१५ मा फ्रान्सेली टिमका पूर्वसहयात्री भ्यालबुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमासहित पाँच जनामाथि अनुसन्धान भइरहेको थियो।

तर फ्रान्सको कानुनअनुसार उनले तत्काल जेलमा भने बस्नुपर्ने छैन। अदालतले तोकेको निश्चित समयसीमाभित्र फेरि त्यस्तै अपराध दोहोर्‍याएमा भने उनले जेल बस्नुपर्नेछ। उनका वकिल स्लेभियन कोमेयरले अदालतबाट आएको निर्णयले आफूलाई आश्चर्यमा पारेको र यो निर्णय अन्यायपूर्ण भएको बताए। उनले अदालतको निर्णयविरुद्ध अपिल गर्ने पनि जानकारी गराए।

बेन्जेमामाथि भ्यालबुएनाको मोबाइल फोनमा रहेको यौनजन्य क्रियाकपालको गोप्य भिडियोमार्फत उनलाई ब्ल्याकमेल गर्न अन्य चार जनालाई सहयोग पुर्‍याएको आरोप लागेको थियो। तर बेन्जेमाले भने आफूले भ्यालबुएनालाई सहयोग पुग्ने उदेश्यले मात्र सो कार्य गरेको दाबी गर्दै आफू पूर्ण रूपमा निर्दोष भएको दाबी गर्दै आएका थिए।

दोषी साबित भएका अन्य चार जनालाई पनि जेल सजाय तोकिएको छ। एक्सेल एंगोटलाई दुई वर्षको जेल, मुस्तफा जोउइलाई साढे दुई वर्ष, करिम जेनाटीलाई १५ महिना तथा योनेस हौआसलाई १८ महिनाको जेल सजाय तोकिएको छ। दोषी पाइए पनि त्यसले बेन्जेमाको खेलजीवनमा भने कुनै बाधा पुर्‍याउने छैन। फ्रान्स र रियाल मड्रिडले बेन्जेमालाई टोलीले नहटाउने बताउँदै आएका छन्।

प्रकाशित: ९ मंसिर २०७८ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App