२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टी–२० विश्वकपः न्युजिल्यान्ड सेमिफाइनल पुग्ने चौथो टोली

न्युजिल्यान्डका डेवन कनवे (बायाँ) र कप्तान केन विलियम्सन रनका लागि दौडँदै। तस्बिरः एएफपी

अफगानिस्तानमाथि ८ विकेटको जितका साथ आइतबार न्युजिल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल टिकट पक्का गरेको छ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअगावै मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।

ग्रुप ‘टु’ मा ५ खेलमा ४ जित र १ हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो। ४ खेलमा शतप्रतिशत नतिजापछि पाकिस्तान ८ अंक जोड्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ।

ग्रुप ‘वान’ बाट इङ्ल्यान्डले विजेता र अस्ट्रेलियाले उपविजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरिसककेका छन्। अफगानिस्तानमाथि न्युजिल्यान्डको जितले जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो।

यता अफगानिस्तानमाथि न्युजिल्यान्डको जितपछि सोमबार भारत र नामिबियाको खेल औपचारिकतामा सीमित हुनेछ। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अविजित ४० रन जोड्दा डेवन कनवेले अविजित ३६ रन बनाए। पहिलो विकेटका लागि ओपनर मार्टिन गुप्टिल र ड्यारेल मिचेलले २६ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि गुप्टिल र विलियम्सनले ३१ रनको साझेदारी गरे।

केनले न्युजिल्यान्डको सेमिफाइनल पात्रका पक्का गर्न तेस्रो विकेटका लागि कनवेसँग अविजित ६८ रनको साझेदारी गरेका थिए। विलियम्सनले ४२ बलमा ३ चौकाको मद्दतमा अविजित ४० बनाउँदा कनवेले ३२ बलमा ४ चौका प्रहार गरे। गुप्टिलले २३ बलमा ४ चौकाको मद्दतमा २८ रन बनाए।

अफगानिस्तानका रासिद खान र मुजिब उर महमानले समान १ विकेट लिए।  यसअघि टस जितेर ब्याटिङका लागि आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रनको योगफल खडा गरेको थियो। अफगानिस्तानका लागि नजिबुल्लाह जादरानले सर्वाधिक ७३ रन जोडे। जादरानले ४८ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरे।

टस जितेर ब्याटिङका लागि उत्रिएको अफगानिस्तानले सुखद सुरुआत भने गर्न सकेन। ८ रन जोड्दा ओपनर मोहम्मद सहजादलाई गुमाएको अफगानिस्तानले थप ४ रन जोड्दा अर्को ओपनर हज्मतुल्ला जजाईलाई पनि गुमायो। १९ रन जोड्दा रहमानउल्लाह गुर्वाजलाई गुमाएको अफगानिस्तानले ५६ रनको योगफलमा गुल्बादिन नाइबलाई गुमाएको थियो।

अफगानिस्तानका तर्फबाट पाँचौं विकेटका लागि जादरान र मोहम्मद नाबीले ५९ रनको साझेदारीका साथ अफगानिस्तानको इनिङ सम्हालेका थिए। 

नाबीले २० बलमा १४ रन प्रहार गरे। न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, टिम साउथीले २ तथा एडम मिल्ने, जेम्स निसाम र एस सोढीले समान १ विकेट लिए।

प्रकाशित: २२ कार्तिक २०७८ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App