२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा म्याराथनलाई सफल दूधकै साथ

मञ्च र सुजल डेरीबीच तीनवर्षे सम्झौता नविकरण

सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्ने भएको छ। सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ।  

प्रालिले पोखरा म्याराथनसँग यसअघि दुई पटक गरेर ६ वर्षसम्म मुख्य प्रायोजन गरिसकेको छ। ‘अब हामी भुतपुर्व खेलाडी मञ्चसँग तीनवर्ष सम्झौंता गरेर अगाडि बढ्छौं,’ सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले भने, ‘तीनवर्षे सम्झौतालाई निरन्तरता दिएका हौं।’  

पोखराको खेलकुद प्रवद्र्धन सुजल डेरी प्रालिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रालिले सबैभन्दा पहिला कास्की जिल्ला फुटबल संघसँग तीनवर्षे सम्झौता गर्दै ‘सफल पोखरा कप’ लाई मुख्य प्रायोजन गर्दै आएको थियो। पहिलो वर्षकै सम्झौतामा कास्की जिल्ला फुटबल संघले बंगलादेशको धनमुण्डी क्लबलाई पोखरा भित्र्याउँदै फुटबलमा नयाँ आयाम थपेको थियो।  

फुटबलसँगको तीनवर्षे सम्झौता सकिएपछि सुजल डेरीले सफल दूधकै नामबाट नेपाल भुतपुर्व खेलाडी मञ्चसँग सम्झौता गर्दै एथलेटिक्स तर्फ हातेमालो गरेको थियो। ‘खेलकुदको विकासमा सहकार्य गर्ने ध्येयले नै सम्झौतालाई नविकरण गरेका हौं,’ प्रालिका कार्यकारी निर्देशक श्रेष्ठको भनाई थियो। सम्झौता नविकरण गरिएपनि सम्झौता रकम पनि विगतको वर्षमा भन्दा केही बढ्ने सम्भावना छ।  

सम्झौता अनुसार वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति छ। अघिल्लो वर्षको सम्झौता अनुसार साढे ४ लाख रुपैयाँ प्रालिले उपलब्ध गराउँदै आएको थियो। ‘अब नयाँ सम्झौता थप भएपछि प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिनेछ,’ मञ्च पदाधिकारीले उल्लेख गरे।  

गतवर्ष मञ्चले कोभिडकै कारण पोखरा म्याराथनसँगै अन्य इभेण्टलाई भने फरक फरक मितिमा आयोजना गरेको थियो। १० किलोमिटर महिला तथा खुल्ला, ५ किलोमिटर छात्रा तथा छात्र दौड तथा ह्वीलचियर दौडलाई विभिन्न चरणमा टुग्याएको थियो। कोभिड भन्दा अघिको संस्करणको पोखरा म्याराथनको उपाधि जापानीज धावकले जितेका थिए।  

प्रत्येक वर्ष जापानको कोमागाने शहरमा आयोजना हुने म्याराथनको उत्कृष्ट धावक पोखरा म्याराथनमा सहभागिता हुनेछन्। पहिलो पटक जापानीज धावक पोखरामा म्याराथनमा सहभागि हुदैं उपाधि जितेर फर्किएका थिए। पोखरा र कोमागाने बीचको भगिनी सम्बन्धकै कारण कोमागानेका धावक पोखरा आउने गरेका हुन्। १६ औं सस्करणको पोखरा म्याराथन आगामी फागुनमा हुने विश्वास छ। १५ औं संस्करण आर्मीका धावक राजन रोकायाले जितेका थिए। उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै दुईलाख नगद राशीको ‘अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ उपाधि आफनो नाममा लेखाएका थिए।

प्रकाशित: १६ कार्तिक २०७८ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App