१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

संघर्षपूर्ण खेलमा मुरेलाई सफलता

विश्व वरीयताका पूर्व नम्बर एक खेलाडी एन्डी मुरेले युरोपियन ओपनमा अमेरिकाका फ्रान्सेस टाइफोईमाथि संघर्षपूर्ण जित निकालेपछि यस किसिमको खेल आफूले कहिल्यै नखेलेको उल्लेख गरेका छन्।

३४ वर्षे ब्रिटिस स्टार मुरेले अमेरिकन प्रतिद्वन्द्वी फ्रान्सेसमाथि लामो प्रतिस्पर्धाबाट जित निकालेपछि उक्त भनाइ राखेका हुन्। एन्टविर्पमा भएको पहिलो चरणको खेलमा मुरेले फ्रान्सेसलाई ७–६ (७–२), ६–७ (७–९), ७–६ (१०–८) ले हराएका थिए। उक्त खेल ३ घन्टा ४५ मिनेटसम्म चलेको थियो।यो यस वर्षकै एटिपीको सबैभन्दा लामो प्रतिस्पर्धा पनि हो। 

यसअघि गत अप्रिलमा बार्सिलोना ओपनको फाइनलमा राफाइल नाडाल र स्टेफानोस सितसिपासले तीन घन्टा ३८ मिनेटसम्मको लामो प्रतिस्पर्धा गरेका थिए। करियरमा चोटद्वारा निकै सताइएका मुरेले लामो समयसम्म चलेको प्रतिस्पर्धामा सफलता पाए। खेलपछि उनले भने, ‘यस किसिमको खेल मैले मेरो जीवनकै पहिलो पटक खेलेको हुँ।’

उनले प्रतिस्पर्धात्मक खेलमा दुई म्याच प्वाइन्ट पनि बचाए। ‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला।खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेलें,’ मुरेले भने, ‘त्यसैले यो खेलपछि म निकै थकित छु।

यो अविस्मरणीय प्रतिस्पर्धा पनि रह्यो। खेलमा जितलगत्तै मुरेले २३ वर्षे फ्रान्सेससँग अंकमाल गरेका थिए।त्यस क्रममा उनले पछिल्लो समय आफ्नो शरीर बुढो भएको पनि उल्लेख गरे। ‘पछिल्लो समय मेरो शरीर बुढो भइसकेको छ। तर पनि लामो प्रतिस्पर्धाको खेल खेल्न रोमाञ्चकता प्रदान गरेको छ। यसले मलाई अर्को स्तरमा पनि पुर्‍याउनेछ,’ उनले उल्लेख गरेका छन्।

आफ्नो करियरमा तीन मुख्य उपाधि जितेका मुरेले दुई वर्षअगाडि सर्जरी पनि गरेका थिए। बिहीबार मुरेले विश्व नम्बर दुई अर्जेन्टिनी खेलाडी डिएगो स्कर्चमेनसँग खेल्दै छन्, जहाँ उनको रिकभरीको परीक्षा पनि हुनेछ। 

दुई विम्बल्डन र युएस ओपन विजेता मुरेका लागि डिएगोसँगको प्रतिस्पर्धा निकै कठिन नै हुनेछ।मुरेले सन् २०१३ र ०१६ मा विम्बल्डन जितेका छन्।उनले सन् २०१२ मा भने युएस ओपनमा सफलता पाएका थिए। सन् २०१६ मा विश्व नम्बर एक रहेका मुरे अहिले भने १ सय ७२औं वरीयतामा छन्।त्यसयता भने उनलाई चोटले सतायो र प्रदर्शनमा पनि निकै असर गर्‍यो। 

प्रकाशित: ४ कार्तिक २०७८ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App