२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

स्कटल्यान्डको जितयात्रामा निरन्तरता

पपुवा न्युगिनीविरुद्ध सट प्रहार गर्दै स्कटल्यान्ड रिची बेरिङ्टन । तस्बिर: एएफपी <br>

स्कटल्यान्डले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको प्रारम्भिक चरणमा जितयात्रालाई दोस्रो खेलसम्म निरन्तरता दिएको छ।

मंगलबार भएको समूह ‘बी’ को पहिलो खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै सुपर १२ मा प्रवेश गर्ने सम्भावना प्रबल बनाएको हो। यसअघि आइतबार पहिलो खेलमा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले स्तब्ध पारेको थियो। 

स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल खडा गरेको थियो। पपुवा न्युगिनीका नोर्मान भानुले सर्वाधिक ४५, सेसे बाउले २४ तथा कप्तान असद भाला र केल्पिन डोरिगाले समान १८ रन बनाए।  

६७ रन जोड्दा ६ विकेट गुमाएको पपुवा न्युगिनीको इनिङ्स नोर्मान र डोरिगाले साताैँ विकेटका लागि ५३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए। ३७ बल खेलेका नोर्मानले २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै डोरिगाले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे। सेसेले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे। स्कटल्यान्डका जस डाभेले ४ विकेट लिए।

प्रतियोगितामा पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो। यसअघि उद्घाटन खेलमा पपुवा न्युगिनीले ओमानलाई १० विकेटको नतिजा सुम्पिएको थियो।

यसअघि टस जितेर ब्याटिङका लागि आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल खडा गरेको थियो। स्कटल्यान्डका रिच बेरिङ्टनले सर्वाधिक ७० र म्याथ्यु क्रसले ४५ रनको योगदान गरे। २२ रन जोड्दा काइल कोट्जरलाई गुमाएको स्कटल्यान्डले थप ६ रन जोड्दा जर्ज मुन्सेलाई पनि गुमायो।  

२६–२ को अवस्थामा ब्याटिङका लागि आएका बेरिङ्टनले क्रससँग तेस्रो विकेटका लागि ९४ रनको साझेदारीका साथ स्कटल्यान्डको इनिङ उकासेका थिए। ४९ बल खेलेका बेरिङ्टनले ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै क्रसले ३६ बलमा २ चौका र २ छक्का प्रहार गरे।

पपुवा न्युगिनीका कबाउ मोरियाले सर्वाधिक चार विकेट लिए। उनले २०औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे।

मोरिया ट्वान्टी–२० विश्वकपमा ह्याट्रिक विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन्। यसअघि सन् २००७ को विश्वकपमा अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध र सोमबार आयरल्यान्डका कर्टिस कम्फरले नेदरल्यान्ड्सविरुद्ध ह्याट्रिकसहित ४ विकेट लिएका थिए। प्रारम्भिक चरणको दुई समूहबाट शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन्।

प्रकाशित: ३ कार्तिक २०७८ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App