१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो। संरक्षण गरिएको मैदान अहिले काँसले छेकिएको छ। सर्प लुक्ने ठाउँ बनेको छ। खेलाडी मैदानबाहिरैबाट हेरेर फर्किंदै चित्त बुझाउँछन्।

कोरोनाले थलिएको खेलकुद बिस्तारै चलमलाउन थालेको छ। खेलाडीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। खोपसँगै खेलाडी खेल्न आतुर छन्। तर क्रिकेट मैदानको हविगत देखेर अँध्यारो अनुहार गरेर फर्किने गरेका छन्। 

क्रिकेट गतिविधि शून्य छ। संघसँग ठोस योजना छैन। योजना बनाउने संघभित्रैका पदाधिकारी चार दिशा फर्किएका छन्। सदस्य पनि पदाधिकारीलाई क्रिकेट विकास योजनाको सुझाव दिने ल्याकत राख्दैनन्।

कोरोनाले थलिएपछि क्रिकेट विकासका लागि संघले कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन। संघकै सुस्तताले कास्कीको क्रिकेट कमजोर बन्दै गएको छ। प्रतियोगितात्मक कार्यक्रम नहुँदा खेलाडीले एक्सपोज हुने अवसर समेत पाएका छैनन्। ‘मैदानको दुर्दशा छ। 

कहिले मर्मतसम्भार भएर खेल्न पाउने हो,’ पोखरा क्रिकेट क्लबका सचिव गोविन्द प्रधानले भने, ‘एउटै गुनासो हो खेलाडीले मैदानमा कहिले खेल्न पाउँछन् ?’ संघको कार्यक्रम छैन। प्रदेश क्रिकेट संघले पनि कार्यक्रम ल्याउन सकेको छैन। क्लबस्तरीय प्रतियोगिता  नहुँदा नयाँ खेलाडी क्रिकेटमा आउनै नसकेको उनको भनाइ थियो।

मैदान मर्मत सम्भार भएको छैन। प्रतियोगिता हुनै नसक्दा खेलाडी एक्सोजबाट वञ्चित छन्। खेलाडीले नेट्स मात्रै प्राक्टिस गरेर कुनै अर्थ नहुने भन्दै उनले जबसम्म खेलाडीले आफूलाई एक्सपोज गर्ने अवसर पाउँदैनन् तबसम्म क्रिकेटको विकास नहुने दाबी गरे। खेलाडीलाई एक्सपोजका लागि जिल्ला संघ र प्रदेश संघले कार्यक्रम ल्याउन जरुरी रहेको उनको ठम्याइ छ।

नेपाल क्रिकेट संघ (क्यान)का क्युरेटर प्रदीप राउतका अनुसार मैदानको दक्षिण क्षेत्रमा पानी जम्ने समस्याले घाँस काटे पनि छिट्टै पलाउँदा मैदानमा कामै नगरेको जस्तो देखिएको छ। ‘मैदानभित्र पानीको निकास छैन। 

पानी सबै क्रिकेट मैदानको दक्षिणतर्फ जम्छ।’ उनले गुनासो गरे–‘तीन पटक घाँस काटे पनि उस्ताको उस्तै छ।’ घाँस काट्दा पनि मैदान सफा हुन नसक्दा पिरलो थपिएको छ। क्युरेटर राउतले पिच रोलरलगायतका अन्य मेसिन भने ठीकठाक रहेको बताए। असोज मध्य सकिँदा पनि पोखरामा नियमितजसो पानी परेको छ।

मैदान मर्मतसम्भार गर्न घाँस काट्नुपर्छ। घाँस काट्ने मेसिन समेत बिग्रिएको छ। ‘आउट फिल्डको घाँस काटे हुन्छ। पिच बनाउन नियमित काम गर्ने कामदार चाहिन्छ,’ उनले भने, ‘दशैंको मुखमा कामदार पाउन कठिनाइ छ। त्यसैले दशैंअघि पिच मर्मतसम्भार गर्न गाह्रो छ।’ कास्की जिल्ला क्रिकेट संघले पनि आर्थिक अभावैले मैदान संरक्षण हुन नसकेको प्रति असहमति जनाएको छ।  

‘पैसाको समस्याले होइन। भएका दुईवटा घाँस काट्ने मेसिन थन्किएका छन्। बिग्रिएको मेसिन मर्मत सम्भारको लागि वर्कसपमा राखिएको छ। पार्टस् नआउँदा बन्न सकेको छैन,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘पार्टस् आएर बनेपछि मात्रै मैदानको घाँस काटिन्छ।’ 

संघसँग अहिले क्रिकेट प्रशिक्षकसमेत छैनन्। प्रशिक्षक  नहुँदा प्रशिक्षणसमेत गराउन कठिनाइ रहेको उनको भनाइ थियो। ‘संघसँग प्रशिक्षक छैनन्। प्रशिक्षक  नहुँदा प्रशिक्षण भएको छैन। नेट्स छ। त्यसैमा खेलाडीले प्राक्टिस गर्दै आएका छन्,’ सिग्देलले भने। 

प्रकाशित: १९ आश्विन २०७८ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App