coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एभरेस्ट प्रिमियर लिगः पोखरा र भैरहवाको पहिलो जित

विराटनगर वारियर्सविरुद्ध बलिङ गर्दै भैरहवाका दुर्गेश गुप्ता। तस्बिर सौजन्यः इपिएल

पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा बुधबार पहिलो जित दर्ता गरेका छन् ।

बुधबार पोखरा र ललितपुर प्याट्रियट्सबीचको खेल ओसिलो मैदानकै कारण निर्धारित समयमा सुरु हुन नसक्दा लगातार तेस्रो दिन एक बल पनि नफ्याँक्दै खेल स्थगित हुने सम्भावना बढेको थियो ।

ललितपुर र पोखराबीचको खेल अन्ततः ७/७ ओभरमा घटाइयो। जहाँ पोखराले ९ विकेटको जितका साथ बाजी मार्‍यो। ललितपुरले प्रस्तुत गरेको ५२ रनको लक्ष्य पोखराले २ बलअगावै मात्र १ विकेटको क्षतिमा पूरा गरेको थियो। 

पोखराका ओपनर रिचार्ड लेबीले अविजित ३८ रन जोड्दा अर्का ओपनर रित गौतमको नाममा १२ रन रह्यो। लेबी र रितले पहलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रनको सामान्य योगफल खडा गरेको थियो। ललितपुरका लागि सन्दुन विनाकोडेले १९ रन जोडेका थिए। ललितपुरलाई कम योगफलमा समेट्ने क्रममा पोखराका नन्दन यादवले ३, विक्रम सोबले २ र केसरिक विलियम्सले १ विकेट लिएका थिए ।

प्रतियोगितामा पोखराले जित खाता खोल्दा ललितपुर भने दोस्रो खेलमा पनि पराजित भयो। उद्घाटन खेलमा ललितपुरले काठमाडौंलाई ७ विकेटको नतिजा सुम्पिएको थियो। शनिबारबाट सुरु इपिएलको चौथो संस्करणको चौथो दिनको समाप्तिसम्ममा मात्र दुई खेलमा नतिजा आएको थियो भने एक खेल रद्द भएको थियो। 

आइतबार विराटनगर वारियर्स र चितवन टाइगर्सबीचको खेलपछि कुनै पनि खेल पूर्ण रूपमा सुचारु भएका थिएनन्। आइतबार नै पोखरा र भैरहवाले वर्षाका कारण खेल सम्भव नभएपछि अंक बाँडेका थिए।  

सोमबार तय भएका काठमाडौं किङ्स इलेभेन र विराटनगर तथा भैरहवा र चितवनबीचका खेल वर्षा र ओसिलो मैदानका कारण स्थगित भएका थिए। मंगलबार पनि वर्षा र ओसिलो मैदानका कारण काठमाडौं र पोखराबीचको खेल पनि स्थगित भएको थियो। बुधबारको दोस्रो खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको छ।  

विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गर्‍यो। भैरहवाका उपुल थरांगाले अविजित ३४ र ओपनर प्रदीप ऐरीले २२ रनको योगदान गरे। त्यस्तै अर्का ओपनर तमिम इकबालले १२ रन जोडे।

 यसअघि टस हारेर ब्याटिङका लागि आएको विराटनगर १७.४ ओभरमा मात्र ८९ रनमा आउट भएको थियो। विराटनगरका दिलसान मुनाविराले सर्वाधिक २५ रन जोड्दा सुमित महर्जनले १३ रन जोडे। त्यस्तै आसिफ शेख र अनिल शाहले समान ११ रन प्रहार गरे। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

विराटनगरको यो दोस्रो हार हो। यसअघि आइतबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो। प्रतियोगिताअन्तर्गत बिहीबार चितवन टाइगर्स र काठमाडौ किङ्स इलेभेनबीच खेल हुनेछ ।

प्रकाशित: १४ आश्विन २०७८ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App