किर्तिमानी धावक हरीबहादुर रोकायाको वर्षौं देखिएको चाहना हो, ‘जुम्लामा एक रंगशाला। खेलाडीले सहजै रुपमा खेलकुद अम्यास गर्न पाउन्। खेलकुद प्रतियोगिता पटकपटक आयोजना होस्। खेलाडीको वृद्धि विकासमा सहयोग पुगोस्।’ तर वर्षौं देखिको उनको त्यो चाहना पूरा हुन सकेको छैन। अहिले पनि उनी हिलाम्य घाँसे मैदानमा खेलकुद अभ्यास गराउन बाध्य छन्। खेलकुद अभ्यासका लागि यहाँका डाडाँकाँडामा खेलाडी दौडाइरहेका छन्।
पटकपटक जुम्लामा एक व्यवस्थित रंगशाला निर्माणको लागि पहल गर्न आग्रह गरिएको थियो। न यहाँका जनप्रतिनिधिको प्राथमिकताको बिषय बन्यो, तर सरकारी नजर जुम्लाको खेलकुद क्षेत्रमा बन्यो। जुम्लाको खेलजगत खेलमैदान नहुँदा थलिदैँ गयो। धावक रोकायाले भने, ‘यहाँको खुलकुद क्षेत्र जबरजस्त अघि बढेको छ। तर खेलमैदानबिनै खेलकुद अभ्यास भएपनि खेलाडीले हारेर आएका छैनन्।’
तत्कालिन जिल्ला विकास समिति हुँदा खेलकुद क्षेत्रको विकासका लागि व्यवस्थित रंगशाला निर्माण गर्न बोर्ड समितिलाई पटकपटक ज्ञापन पत्र दिनेदेखि ध्यानाकर्षण गराउने सम्मको काम भयो। तत्काल खेलकुद मैदान जायजजस्तो लागेको अनुभूति भएपनि विस्तारै बिर्सने गरियो। धावक रोकायाले भने, ‘खेलकुद क्षेत्रले संसार सामु चिनाइरहेको छ। तर यहाँका सरकार, प्रतिनिधिले खेलकुद क्षेत्रको महत्व बुझ्न सकेका छैनन्।
संघीय व्यवस्था कार्यान्वयनसँगै एक स्थानीय तहमा एक रंगशाला निर्माण गर्ने भनियो। यो समयमा धावक हरीबहादुर रोकाया निकै आशावादी थिए। चन्दननाथ नगरपालिकाले रंगशाला बनाउने भएपनि खेलाडीका दुखका दिन गए भन्ने सोचेका थिए। तर स्थानीय तहको निर्वाचन भएको साढे चार वर्ष पुग्न लाग्दा समेत रंगशाला बनाउने सुरसार छैन। न रंगशाला बनाउने कुनै पहल भएको छ ,न त खेलाडी प्रर्वद्धनका क्रियाकलाप नै भएका छन्। खेलाडी निकै उपेक्षामा छन्। धावक रोकायाले भने, ‘जुम्ला खेल पर्यटनको महत्वपूर्ण गन्तब्य बन्न सक्छ। तर खेल क्षेत्र भित्रको संभावनाको खोजी गर्ने व्यक्ति राजनीतिक यात्रामा भेटिएको छैन।’
अहिले कार्यकर्ता पाल्ने, पहुँचवालालाई सिधै विकास दिने प्रचलन हावी छ। उनले भने, ‘खेलाडी कस्तो अवस्थामा छन्। खेलकुद क्षेत्रको अवस्था कस्तो छ? कसैले ध्यान दिन सकेका छैनन्।’ जुम्लामा रंगशाला नहुँदा खेलकुद आयोजना गर्दा नेपाली सेनाको टुडिँखेल मैदान माग्नुपर्छ। त्योबाहेक अर्को विकल्प छैन।
अहिले जुम्लामा रंगशाला निर्माणको लागि हस्ताक्षर संकलन अभियान चलेको छ। यहाँका पाँच हजार युवाले हस्ताक्षर गरेर सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको खेलकुद परिषद कर्णालीका सदस्य सरोज शाही बताउँछन्। उनले भने, ‘यहाँ फुटबल, भलिवल, एथ्लेटिक्स खेलका राम्रा संभावना वोकेका खेलाडी छन्। उनीहरु खेलमैदान नहुँदा अभ्यास गर्न सकिरहेका छैनन्। उनीहरुले खेल प्रतिभा देखाउन सकिरहेका छैनन्। यो बिडम्वना हो। अब जुम्लामा रंगशाला चाहिन्छ। जुम्लालाई खेलकुदको हब बनाउन लागि पर्नुपर्छ।’ उनले खेलमैदान निर्माणका लागि कर्णाली प्रदेश खेलकुद परिषदमा बारम्वार छलफल हुने गरेको बताए।
रंगशाला निर्माणको लागि कर्णाली स्पोर्ट क्लव र योङस्टार युवाक्लवले हस्ताक्षर संकलनको पहल लिएका छन्। एथलेटिक्स धावक हरीबहादुर रोकायाले हस्ताक्षर गर्दै भने, ‘अब पनि रंगाशाला निर्माणको लागि पहल हुँदैन भने यहाँको खेल क्षेत्रअघि बढ्न सक्दैन।’
संकलित हस्ताक्षर चन्दननाथ नगरपालिका, जिल्ला खेलकुद विकास समिति, कर्णाली प्रदेश खेलकुद परिषद, समाजिक विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्यि खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयमा पठाउने भएको छ। एक स्थानीय तह एक रंगाशाला सरकारी मान्यताअनुसार यहाँ एक नगरपालिकासहित ७ गाउँपालिका गरेर ८ वटा रंगशाला हुनु पर्ने हो। तर एउटा पनि रंगशाला नहुँदा समस्या छ।
प्रकाशित: १२ आश्विन २०७८ १५:२४ मंगलबार