७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप: विकेश र राजन परेनन्

गोलरक्षक विकेश कुथु र राजन गुरुङले साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा स्थान बनाउन असफल भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले आइतबार साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।  

साफ च्याम्पियनसिपको तयारीका लागि गत महिना भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल १० दिने कतार भ्रमणमा निस्किएको थियो। भारतविरुद्धको दुुईमध्ये एक मैत्रीपूर्ण खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा भने पराजित भएको थियो। कतार भ्रमण गरेको २५ सदस्यीय टोलीबाट २३ खेलाडी छनोट गरिएको हो।  

कतार भ्रमणमा नेपालले त्यहाँको दोस्रो श्रेणीको क्लब अल बिदासँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ नेपाल २–० ले विजयी भएको थियो। कतार भ्रमणमै नेपालले आइतबार ओमानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेलेको थियो। ओमानसँग नेपाल ७–२ ले पराजित भएको थियो। नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ।  

नेपालले असोज १५ गते आयोजक माल्दिभ्सविरुद्धको खेलसँगै साफ च्याम्पियनसिपमा आफ्नो यात्राको थालनी गर्नेछ। नेपालले हालसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन। नेपालले दोस्रो खेलमा असोज १८ मा श्रीलंका, तेस्रो खेलमा असोज २४ गते भारत र चौथो खेलमा असोज २७ गते बंगलादेशको सामना गर्नेछ।

लिगका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।  सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा तय गर्नु नै नेपालका लागि अहिलेसम्मको ठूलो उपलब्धि हो।  

नेपाली टोली  

किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरजज्यू ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल,नीतिन थापा, विशाल राई, सुनील बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डाँगी, कमल थापा, रोहित चन्द। 

प्रकाशित: ११ आश्विन २०७८ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App