coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

ओमानविरूद्ध जितपछि कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर मैदानबाट बाहिरिँदै । तस्बिर सौजन्य: क्यान

करण केसी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रेरणामा नेपालले ओमानमा भएको विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा घरेलु टोलीमाथि फराकिलो जित निकाल्दै सुखद अन्त्य गरेको छ।

सन्दीप र करणले समान चार विकेट लिएको खेलमा नेपालले आइतबार ओमानमाथि ७ विकेटको ऐतिहासिक जित निकाल्दै त्रिदेशीय शृंखलामा सुखद अन्त्य गरेको हो। 

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दै राजीनामा दिइसकेका छन्। अलअमिरात क्रिकेट मैदानमा १ सय २२ रनको झीनो लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाई पूरा गर्दै यस शृंखलामा दोस्रो तथा विश्वकप लिग–२ मा चौथो सफलता निकालेको हो।

यसअघि नेपालले यसै शृंखलामा अमेरिकासँग अप्रत्याशित हार बेहोर्दा ओमानसँगको पहिलो खेल पनि गुमाएको थियो। तर, सात राष्ट्र सम्मिलित लिगमा शीर्ष स्थानको ओमानसँग भने फराकिलो जित निकाल्दै नेपाल आत्मविश्वासका साथ घर फर्किने भएको छ। नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५५ रनको अर्धशतकीय इनिङ खेल्दै यस शृंखलामा दोस्रो अर्धशतक बनाए। उनी एकदिवसीय शृंखलामा सर्वाधिक चार अर्धशतक बनाउने नेपालका पहिलो क्रिकेटर पनि बने। रोहित पौडेलको नाममा तीन अर्धशतक छ।

५२ बल खेलेका ज्ञानेन्द्रको इनिङमा चार चौका र दुई छक्का समावेश थियो। नेपालले चौथो ओभरको पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई ६ रनमा नै गुमाउन पुग्यो। तर, अर्का ओपनर आसिफ शेखले दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्रसँग ९५ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक  पुर्‍याए। यो नै एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि हो। 

१५.५ ओभरमा आसिफ ४० रन बनाएर आउट हुँदा नेपाललाई जितका लागि ११ रन मात्र आवश्यक थियो। त्यसपछि ब्याटिङमा आएका रोहित पौडेल ६ रनमै पवेलियन फर्किए पनि नेपाल जितनजिक पुगिसकेको थियो। रोहित र आसिफ दुवैलाई नेस्टर धाम्बाले पवेलियनको बाटो देखाएका हुन्।

४४ बल खेलेका आसिफले सात चौका हिर्काए। ओमानको बलिङमा धाम्बाको दुई र कलिमउल्लाहको नाममा एक विकेट रहँदा बाँकी बलर भने विकेटविहीन रहे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले सुरुदेखि नै खराब ब्याटिङलाई निरन्तरता दिँदा ३७.१ ओभरमा अलआउट हुनुअघि १ सय २१ रन मात्र बनाउन सक्यो।

करण र सन्दीपको बलिङसामु ओमान कप्तान जिसन मक्सुदबाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। मक्सुदले ४१ रनको इनिङ खेल्दै घरेलु टोलीको सय रनको आँकडा पार गराए। करणकै बलमा नवौं विकेटका रूपमा आउट हुनुअघि मक्सुदले ६६ बलमा दुई चौका र एक छक्का हिर्काए।  

यसै शृंखलामा नेपालविरुद्ध शतक प्रहार गरेका ओपनर जतिन्दर सिंहको १३ रन नै ओमानका लागि दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो। उसका सात ब्याट्सम्यानले दोहोरो अंकमा नै रन बनाउन सकेनन्। सन्दीप र करणले नै मक्सुदबाहेक ओमानका शीर्ष सात ब्याट्सम्यानलाई सस्तैमा आउट गर्दै घरेलु टोलीका इनिङ  धराशयी पारे। यस शृंखलमा पहिलो खेल खेलेका अनुभवी शरद् भेषवाकरले थप दुई विकेट लिँदै ओमानको इनिङलाई सस्तैमा रोक्न मद्दत गरे। ८.२ ओभर बलिङ गरेका सन्दीपले दुई मेडन राख्दै १८ रन मात्र खर्चिए।

करणले पनि आठ ओभर बलिङ गर्दै एक मेडनसहित २५ रन मात्र खर्चिए। ६ ओभर बलिङ गरेका शरदले भने एक मेडन राखेर २१ रन खर्चिए। नेपालका अन्य बलरले पनि किफायती बलिङ गर्दै ओमानलाई दबाबमा राखे। 

नेपालले त्रिदेशीय शृंखलाको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराउँदा दोस्रो खेलमा भने ओमानसँग पाँच विकेटको नै पराजय बेहोरेको थियो। तेस्रो खेलमा भने नेपालले अमेरिकासँग ६ विकेटको अप्रत्यशित हारको सामना गर्नुपर्‍यो। तर, ओमान भ्रमणको अन्तिम खेलमा जितसँगै नेपाल आठ खेलबाट ४/४ जित र हारसहित ८ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित: ४ आश्विन २०७८ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App