१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भैरहवामा तमिम

नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको टोली भैरहवा ग्लाडियटर्सबाट बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

असोज ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएलमा ट्वान्टी–२० क्रिकेट खेल्नका लागि भैरहवाले शनिबार अनुबन्ध गरेको जनाएको छ। ३२ वर्षे इकबाल यस सिजनको इपिएलमा भैरहवाबाट खेल्ने तेस्रो विदेशी खेलाडी हुन्। यस अघि भैरहवाले श्रीलंकाका बलर धमिका प्रसाद र श्रीलंकाका पूर्वओपनर उपुल थरंगालाई अनुबन्धित गरिसकेको छ।  

इकबाल बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन्। उनले बंगलादेशका लागि ६४ टेस्ट, २ सय १९ एकदिवसीय र ७८ ट्वान्टी–२० खेलेका छन्।  

उनी टेस्ट र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७ सय ८८ रन, एकदिवसीयमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन्। उनले सन् २०२० को मार्चबाट बंगलादेशको एकदिवसीय टोलीको कप्तानी गर्दै आइरहेका छन्।  

यद्यपि ट्वान्टी–२० विश्वकपमा उनको सहभागिता हुने छैन। ट्वान्टी–२० मा उनले बंगलादेशका लागि १ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ५७ रन बनाएका छन्। ट्वान्टी–२० मा अन्तर्राष्ट्रिय शतक बनाउने उनी एक्लो र पहिलो बंगलादेशी खेलाडी पनि हुन्। असोज २३ गतेसम्म चल्ने इपिएलमा ६ टोलीले सहभागिता जनाउँदै छन्। इपिएलमा साबिक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स–११ बीच उद्घाटन खेल हुनेछ।

प्रकाशित: २७ भाद्र २०७८ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App