९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

हक्की र ह्याण्डबललाई विदेशी रेफ्रीकै भर

केही खेल यस्ता छन्, जसका पटक्कै केही पूर्वाधार छैनन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् ।  

पोखरामा निकै प्रचलित र स्कुलदेखि नै प्रवद्र्धन गरिएको ह्याण्डबल खेल र पोखरामा पूर्वाधारको अभावमा रुमलिएको हक्कीको लागि विदेशी निर्णायक नै झिकाउनुपर्छ । विराटनगरमा आयोजित सातौं तथा  नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलको पुरुषतर्फ र हक्कीको महिला तथा पुरुष दुवै प्रतिस्पर्धाको लागि विदेशी प्रशिक्षक झिकाई प्रतियोगिता पुरा गरियो ।  

गण्डकी प्रदेश यतिबेला नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ । आन्तरिक तयारी थालनी गरिदैं छ । सबैजसो खेलका केहीहदसम्म खेलाडीले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । दोस्रो डोजको खोप लगाईसकेपछि प्रशिक्षण शुरु गरिने गण्डकी प्रदेश खेलकुद परिषदले योजना बनाएको छ । नवौं राष्ट्रिय खेलकुदको तयारी गरेपनि हक्की र ह्याण्डबलका निर्णायक भने विदेशी नै ल्याउनुपर्ने बाध्यता अझै हटेको छैन् ।  

‘पुरुषको ह्याण्डबल रेफ्री नै छैनन् । कन्ट्याक्ट गेम भएकोले कसैले पनि रिक्स लिन चाहदैनन्, ’ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘विभागीय टीम बीचको प्रतिस्पर्धा टुंग्याउन नेपाली निर्णायकले नसक्ने हुँदा विदेशी नै ल्याउनुपर्ने अवस्था छ ।’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव समेत रहेका गुरुङले नेपाली निर्णायकमा क्षमता भएपनि आत्मविश्वास नहुँदा समस्या पर्ने गरेको बताए ।

‘निर्णायकमा सिनियर खेलाडीले जिम्मा लियो भने विदेशी निर्णायक ल्याउनुपर्दैन्,’ उनले भने, ‘जुनियरलाई सिनियरले धम्क्याउने प्रवृत्तिले पनि जुनियर निर्णायक बस्न मान्दैनन् ।’ निर्णायकको लागि अध्ययन हुनुपर्छ । अध्ययन विना निर्णय दिनै सकिदैन् । मनोविज्ञानमै असर परेपछि भएकाहरु निर्णायकहरु पनि छोड्दै गएका छन् । ‘युवाहरुलाई प्रोत्साहित गरेर तालिम पनि गरियो । तर गेम खेलाउन आत्मविश्वासकै कमि देखियो,’ उनको भनाई थियो । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेको गुरुङले अब निर्णायकमा आत्मनिर्भर हुनै पर्ने दवाव रहेको उल्लेख गरे ।  

नेपाली निर्णायक नहुँदा पीडा हक्कीले पनि वर्षौदेखि भोग्दै आएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा विदेशी निर्णायक नमागउँदासम्म सिठ्ठी फुकिदैन् । ‘नेपालमा रेफ्री छन् तर सबै प्रशिक्षकहरुले गर्नुपर्छ । प्रशिक्षकले टिम सम्हाल्दा निर्णायक विदेशबाटै ल्याउनुपर्छ,’ नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । उनका अनुसार नेपालमा ८ जना प्रशिक्षक छन् । ८ जना प्रशिक्षकले निर्णायक समेत हुन् । तर टिमलाई प्रशिक्षण दिनुपर्ने बाध्यता रहँदा निर्णायक बस्न पाउँदैनन् । भएका  प्रशिक्षक प्रशिक्षणमा व्यस्त हुनुपर्दा विशेष गरी भारतबाटै निर्णायक ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।  

यतिबेला कोरोनाको कहर छ । कोरोनाको कहरसँगै खेलकुदका गतिविधि शून्य प्राय नै छन् । संघको आन्तरिक स्रोत समेत छैन् । स्रोत नहुँदा  एशियन हक्की महासंघले सहयोग गर्दै आएको छ । ‘एशियन हक्क महासंघले अनलाईन कोचिङ टे«निङ दिदैं आएको छ,’ उनले भने, ‘अनलाईन कोचिङलाई अब प्रतियोगिताकै दौरानमा प्रशिक्षण गराएपछि स्वदेशी निर्णायक उत्पादन हुन्छन् ।’ नवौंको संघारमा रहँदा हक्कीले पनि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको छ । तीनवर्ष अघि पोखरामा आयोजित सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आर्चरी खेल मैदानमा सम्पन्न गरिएको थियो । 

प्रकाशित: १९ भाद्र २०७८ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App