६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

कास्की जिल्ला हक्की संघको अध्यक्षमा केसी

लामो समयपछि हक्कीले प्रशिक्षणको अभावमा झेलिरहेको समस्याबाट मुक्ति पाउँदैछ । पोखरा रंगशालाभित्र हक्कीको लागि अस्थाई मैदान निर्माण शुरु गरिएपछि खेलाडीले प्रशिक्षणको अवसर पाउने छन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिको पहलमा मैदान निर्माण कार्य अघि बढाइएको छ ।  

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीले रजत पदक जितेको थियो । त्यही इतिहासलाई घरेलु मैदानमा आयोजना हुने प्रतिस्पर्धामा स्वर्णको अपेक्षा गरिएको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीको शाख जोगाउन पनि मैदान अत्यावश्यक भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । उनले अस्थाई मैदान भएपनि उपलब्ध गराउन पहलकदमी गरेकै अवस्थामा राखेपमा बोर्ड सदस्य राजेश गुरुङको सक्रियतामा मैदान निर्माण कार्य अघि बढेको जानकारी गराए ।  

‘खेलाडीलाई प्रशिक्षणको लागि मैदानको खाँचो थियो’ उनले भने, ‘मैदान निर्माणपछि त्यो समस्या समाधान हुन्छ ।’ लामो समयदेखि हक्की संघ कास्कीको अधिवेशन समेत हुन सकेको थिएन् । नयाँ कार्यसमितिको काँधमा मैदान निर्माण पुरा गर्नुपर्ने दायित्व आएको छ । त्यही दायित्व पुरा गर्न संघले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।  

उपाध्यक्षमा चनमन श्रीमल, द्वितीय उपाध्यक्ष्मा भरत थापा, सचिवमा बुद्धिबहादुर खत्री क्षत्री, कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् । सदस्यमा मनोज शिल्पकार, शान्ति गुरुङ, बुद्ध गुरुङ, सोमबहादुर थापा(सुजन) र नविन गुरुङ(डिबी) रहेका छन् । नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काको उपस्थितिमा अधिवेशन गरिएको हो ।  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले अधिवेशनको उदघाटन गर्दै हक्की संघलाई मैदान निर्माणको तयारी गरिएको उल्लेख गरे ।  

संघका नवनिर्वाचित अध्यक्ष केसीले घरेलु मैदानमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उच्च प्रदर्शन नै मुख्य चुनौति रहेको उल्लेख गरे । ‘मैदान तयार हुदैंछ । खेलाडीहरु मैदान नहुँदा पनि जेनतेन प्रशिक्षण गरिरहेका छन् । मैदान भएपछि अझ सहज र उत्कृष्ट नजिता आउनेमा विश्वास लिएका छौं,’ उनको भनाई थियो ।

प्रकाशित: १६ भाद्र २०७८ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App