१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेड २८औं अवे खेलसम्म अपराजित

खेल सकिन १० मिनेट बाँकी छँदा मासन ग्रिनउडको गोल प्रेरणाबाट म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा २८औं अवे खेलसम्म अपराजित यात्राको कीर्तिमान कायम गरेको छ।

आइतबार राति उल्भरह्याम्पटनमाथि उसैको घरेलु मैदान मोलिनक्समा १–० को जित निकाल्दै युनाइटेडले अवे खेलमा आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म पुर्‍याउँदा ग्रिनउडको गोल निर्णायक बनेको हो। ओल्ड ट्राफोर्डमा क्रिस्टियानो रोनाल्डोको पुनरागमनका लागि सम्झौता भएपछि युनाइटेडका समर्थक मोलिनक्स मैदानमा निकै उत्साहित थिए। 

यद्यपि, रोनाल्डो आफ्नो आवश्यक कागजी प्रक्रिया पूरा गर्नका लागि अहिलेसम्म युनाइटेडमा उपस्थित भइसकेका छैनन्। आइतबारको खेलमा युनाइटेडले यसै समरमा अनुबन्धित दुई ठूला स्टार राफाइल भारेन र जाडोन सान्चोलाई पहिलो पटक पहिलो रोजाइमा उतारेको थियो।

ओले गनर सोल्सजायरको युनाइटेडले सन् २०१३ पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने लक्ष्य राखेको छ। एकेडेमीबाटै उत्पादित खेलाडीको यादगार लयले पनि ओल्ड ट्राफोर्ड टोली युनाइटेडलाई थप सहयोग गरेको छ। ग्रिनउडजस्ता क्षमतावान् युवा खेलाडी लयमा नै रहेको समयमा रोनाल्डोको पुनरागमनले उनको भविष्य के हुने हो भन्ने प्रश्न पनि खडा भइरहेको छ। 

रोबी फोलरपछि सिजनको सुरुआती तीन खेलमा गोल गर्ने ग्रिनउड पहिलो खेलाडी बनेका छन्। ‘उनी (ग्रिनउड) विशेष किसिमका खेलाडी हुन्,’ सोल्सजायरले भने, ‘हरेक खेलमा उनले आफ्नो ध्यान केन्द्रित गरेका छन्। साथै भविष्यमा पनि उनी इङ्ल्यान्डका निकै राम्रो खेलाडी बन्नेछन्।’  

यता नयाँ प्रशिक्षक ब्रुनो लेगेको टोली उल्भरह्याम्पटनले आफ्नो सुरुआती तीन खेलमा अहिलेसम्म अंक नै बटुल्न सकेको छैन। साथै टोलीले प्रिमियर लिगका तीनै खेलमा हालसम्म गोल गर्न नसक्दा उल्भरह्याम्पटन थप दबाबमा परेको छ। उल्भरह्याम्पटनका रुबेन नेभेसमाथि पाउल पोग्बाको फाउल नदिँदा घरेलु टोलीले त्यसको ठूलो मूल्य चुकाउनुपर्‍यो, सोही मुभमा युनाइटेडले एक मात्र गोल निकालेको थियो। ‘सबैले मप्रति र मेरो खुट्टामा हेरेका थिए,’ नेभेसले भने, ‘त्यो पूर्ण रूपमा फाउल नै थियो र म योभन्दा बढी केही भन्न चाहन्नँ।’ स्पेनिस एडमा ट्राओरे आफ्ना पूर्वप्रशिक्षक नुनो स्प्रिटो सान्टोको टोली टोटेनह्याममा जाने चर्चा चलिरहेको छ। टोटेनह्याम अहिले अंकतालिकाको शीर्षमा छ।

ट्राओरेको तीव्र गतिको प्रदर्शनका बावजुद उल्भरह्याम्पटनका अन्य खेलाडीले त्यसको सदुपयोग गर्न सकेनन्। उनकै पासमा राउल जिमिनेजको प्रहार डेविड डी हेयाले बचाएका थिए। खेल सकिन १० मिनेट बाँकी छँदा ट्राओरेकै पासमा फ्रान्सिस्को ट्रिन्काओले गोल गर्ने सुन्दर अवसर गुमाए। उल्भरह्याम्पटनको अर्को प्रहारलाई युनाइटेडका आरोन वान बिसाकाले उत्कृष्ट बचाउ गरेका थिए। युनाइटेडका गोलकिपर डी हेयाले अर्को उत्कृष्ट बचाउ गरे। रोमेन सासको प्रहारलाई गोलकिपरले निस्तेज पारेका थिए। यस खेलमा दुवै टोलीका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरे। तथापि, भारेनको पासमा ग्रिनउडको गोल निर्णायक बन्दा युनाइटेडले स्पष्ट तीन अंक निकाल्यो। 

प्रकाशित: १५ भाद्र २०७८ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App