१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युएस ओपनः खराब लयबाट उठ्ने लक्ष्य

डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका सोमबारदेखि सुरु हुने वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन जित्दै आफ्नो चौथो सहभागितामा तेस्रो उपाधि जित्ने योजनामा छिन् । तर, ओसाकाको लक्ष्यमा गत विम्बल्डन च्याम्पियन शीर्ष वरीयता प्राप्त अस्ट्रेलियन स्टार एस्लेघ बार्टी प्रमुख चुनौती बन्न सक्ने अनुमान गरिएको छ। 

न्युयोर्कमा ओसाकाले आफ्नो खराब लयबाट कसरी माथि उठ्न सक्छिन् भन्ने चासोको विषय बनिरहेको छ। किनकि पछिल्ला दुई प्रतियोगितामा उनले खासै राम्रो प्रदर्शन गर्न सकेकी छैनन्। घरेलु मैदानमा सम्पन्न टोकियो ओलम्पिकमा २३ वर्षीया जापानिज स्टार ओसाकाले ओलम्पिक मसाल पनि बोकेकी थिइन्। उनले जापानमा ओलम्पिक खेलेपछि दुई म्याच मात्र खेलेकी छन्। ‘मैले खासै धेरै खेल खेलिनँ। त्यसमा क्वार्टरफाइनलसम्म पनि पुग्न सकेको छैन,’ ओसाकाले भनिन्, ‘तर पनि म उत्साहित र आत्मविश्वासी पनि देखिएकी छु। तथापि, निकै राम्रो प्रदर्शन गर्नेछु भन्न चाहिँ सक्दिनँ ।’

ओसाका आफ्नो न्युयोर्क यात्रा सफल रहनेमा आशावादी देखिएकी छन्। फ्रेन्च ओपनमा पत्रकार सम्मेलन बहिष्कार गरेका कारण उनले जरिवानासमेत बेहोर्नुपर्‍यो। मानसिक स्वास्थ्य समस्यालाई कारण देखाउँदै बहिष्कार गरेकी उनले त्यस प्रतियोगिता पनि छाडेकी थिइन्। त्यसपछिकै अर्को ग्रान्ड स्लाम विल्बल्डनमा पनि उनी सहभागी भइनन्। त्यस क्रममा उनले आफ्नो स्वास्थ्य समस्याका कारण पत्रकार सम्मेलन बहिष्कार गर्नुपरेको स्पष्टीकरण दिए पनि तीव्र आलोचना सामना गर्नुपरेको थियो। पछिल्लो प्रतियोगिता सिनसिन्नाटी ओपनमा भने उनले सञ्चारमाध्यमसँग कुरा गरेकी छन्।  

ओसाकाले गत वर्ष भिक्टोरिया अजारेन्कालाई हराउँदै युएस ओपनको उपाधि उचालेकी थिइन्। त्यस क्रममा उनी सन् १९९४ पछि युएस ओपनको फाइनलमा पहिलो सेट गुमाएर पनि जित रच्ने पहिलो महिला खेलाडीसमेत बनिन्। उनले यस वर्षको सुरुआत पनि राम्रै गरेकी थिइन्। चौथो चरणमा स्पेनकी गार्बिन मुगुरुजालाई स्तब्ध बनाएकी उनले सेमिफाइनलमा भने २३ पटक ग्रान्ड स्लाम च्याम्पियन सेरेना विलियम्सलाई निराश पारिन्। फाइनलमा पनि उनले जेन ब्राडीलाई निराश बनाउँदै वर्षको सुखद सुरुआत गरेकी थिइन्। ओसाका अहिले विश्व वरीयतमा तेस्रो स्थानमा छिन्। उनले चेक रिपब्लिककी मारिया बौज्कोभाविरुद्ध खेल्दै न्युयोर्कको यात्रा सुरु गर्नेछन् ।

चौथो चरणमा भने उनको प्रतिस्पर्धी कोको गौफ हुने सम्भावना छ। क्वार्टरफाइनलसम्म पुग्न सके ओसाकाको प्रतिस्पर्धी इलिना भितोलिना हुने सक्नेछिन्। बेलारुसकी आर्याना साबालेन्काले पनि सेमिफाइनलसम्म यात्रा तय गरे ओसाका उनको चुनौती बन्ने सम्भावना रहन्छ। अस्ट्रेलियन स्टार बार्टी ८३औं हप्तासम्म विश्वको शीर्ष वरीयतामा छिन्, जसले विम्बल्डन र सिनसिन्नाटी ओपनको सफलता पनि प्राप्त गरिन्। फ्लसिङ मिडोजमा पनि बार्टीले आफ्नो लयलाई निरन्तरता दिएकी थिइन्। २५ वर्षीया बार्टीले यस वर्ष मियाजी ओपन, मेलबर्न र स्टुटगार्ट ओपनलगायत थप सफलता पनि चुमेर आफ्नो लय साबित गरिसकेकी छन्।  

‘मैले सहज महसुस गरिरहेकी छु र आगामी प्रतियोगिताका लागि पनि तयार छु,’ बार्टीले भनिन्। उनले आफ्नो पहिलो मुख्य प्रतियोगिता भने सन् २०१९ को फ्रेन्च ओपन जितेकी थिइन्। यसबीच उनले करियरमा दुईवटा ग्रान्ड स्लाम आफ्नो नाममा लेखाएकी छन्। ‘मैले यी दुई ग्रान्ड स्लाम जित्छु भन्ने पनि सोचेको थिइनँ,’ बार्टीले भनिन्, ‘२५ वर्षमा मैले दुईवटा सफलता लेखाएको छु। आशा गरौं, थप दुई वटा ग्रान्ड स्लाम जित्नअझै २५ वर्ष लाग्ने छैन ।’ गत फेब्रुअरीमा ओसाकासँग पराजित भएपछि सेरेना विलियम्सले एउटा पनि हार्ड कोर्ट म्याच खेलेकी छैनन्। यस पटक ह्याम्स्ट्रिङको समस्याका कारण न्युयोर्कमा पनि सेरेनाको सहभागिता नहुने भएको छ। गत विम्बल्डनमा पनि सेरेना ह्याम्स्ट्रिङका कारण पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

‘चिकित्सक टोलीको सुझावअनुसार युएस ओपबाट नाम फिर्ता लिने निर्णय लिएकी छु,’ गत बुधबार सेरेनाले इन्स्ट्राममा पोस्ट गरेकी थिइन्। उनी अर्को महिना नै ४० वर्षको हुनेछिन्, जहाँ उनको लक्ष्य मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्रान्ड स्लाम बराबरी गर्ने रहेको छ। तर, घरेलु मैदानमा पनि नखेल्ने भएपछि सेरेनाको लक्ष्य टाढिँदै गएको अनुमान गरिन थालेको छ। सेरेनाको अनुपस्थितिले अन्य युवा स्टारलाई पनि यस पटकको उपाधि चुनौती थप सहजता हुनेछ। 

प्रकाशित: १४ भाद्र २०७८ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App