१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

एन्टोनियोको कीर्तिमान

मिकायल एन्टोनियोले वेस्ट ह्यामका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै कीर्तिमान बनाएको दिन लेस्टर सिटीविरुद्ध ४–१ को फराकिलो जित निकाल्दा उनको टोलीले सुखद लयलाई सोमबार पनि निरन्तरता दिएको छ।  

घरेलु मैदान लन्डन स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले ४०औं मिनेटमा १० खेलाडीमा सीमित लेस्टरलाई स्तब्ध बनाउँदै लगातार दोस्रो खेलमा सुखद नतिजा निकाल्न सफल भएको हो। यसअघि भएको पहिलो खेलमा वेस्ट ह्यामले न्युक्यासल युनाइटेडको घरेलु मैदानमा ४–२ को फराकिलो जित निकाल्दै नयाँ सिजन सुरुआत गरेको थियो।  

वेस्ट ह्यामलाई फराकिलो जित दिलाउनका लागि एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्रह्माले समान एक/एक गोल गरे। ३१ वर्षीय फरवार्डले प्रिमियर लिगमा वेस्ट ह्यामका लागि ४९औं गोल गरेका हुन्। उनले पोओलो डी कानियोको कीर्तिमान तोडेका हुन्। पूर्वफरवार्ड पोओलोको नाममा ४७ गोल रहेको छ। सन् २०१५ मा वेस्ट ह्याम आएका एन्टोनियोले १ सय ६० खेलबाट कीर्तिमान बनाएका हुन्।  

घरेलु मैदानमा सुरुआतबाट नै आक्रामक खेलेको वेस्ट ह्यामका लागि फोर्नाल्सले २६औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा परेको लेस्टर पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा १० खेलाडीमा सीमित हुन पुग्यो। आयोजे पेरेजले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा खुम्चिएको थियो। खेलको २६औं मिनेटमा पाब्लोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा लिएको अग्रता र कम खेलाडी भएको फाइदा वेस्ट ह्यामले दोस्रो हाफमा भरपूर लियो। ५६औं मिनेटमा बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामको अग्रता २–० को बनाए। ६९औं मिनेटमा लेस्टरका युरीले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याएका थिए। ८० औं र ८४औं मिनेटमा एन्टोनियोले दुई गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को अवस्थामा लगे। त्यसपछि बाँकी गोल हुन सकेन र वेस्ट ह्यामले बलियो प्रतिद्वन्द्वीविरुद्ध फराकिलो जित निकाल्न सफल भयो।  

पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दा एन्टोनियोको टोली वेस्ट ह्यामले न्युक्यासलविरुद्ध सानदार जित निकालेको थियो। उनकै कीर्तिमानी प्रदर्शनबाट जितलाई निरन्तरता दिँदा प्रशिक्षक डेभिड मोइसले निकै प्रशंसा गरे।

‘एन्टोनियोको खेलबाट म निकै प्रभावित भएको छु। पहिलो हाफमा उनको प्रदर्शन सोचेजस्तो नलाग्दा म केही निराश थिएँ,’ वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोइसले भने, ‘दोस्रो हाफमा केही सुझाव दिएपछि भने उनले आफूलाई प्रमाणित गर्ने खेल देखाए।’ वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो। यस जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ। लेस्टरको यो पहिलो हार हो। लेस्टरले २ खेलमा ३ अंक जोडेको छ।

प्रकाशित: ९ भाद्र २०७८ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App