फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ। तालिममा पूर्ण /आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए। उनीहरूलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापामगरले आत्मरक्षासम्बन्धि विभिन्न कला सिकाएका थिए।
उनी नेपाल उमा कुङ्फु संघका पूर्वअध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन्। दृष्टिविहीनहरूले पनि कसैबाट असुरक्षित महसुस गर्दा आफ्नो रक्षा आफैँ गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको प्रशिक्षक मगरले बताए। पाँचदिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो।
सन् २०१३ देखि आत्मरक्षासम्बन्धि तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षासम्बन्धि तालिम प्रदान गरिसकेका छन्। हालसम्म करिब २५ हजारलाई आत्मरक्षासम्बन्धि तालिम प्रदान गरिसकेको उनले जानकारी गराए। कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित: ७ भाद्र २०७८ ०२:२४ सोमबार