coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफमा इतिहास कोर्न लक्ष्य छः अल्मुताईरी

नेपाली फुटबल टिमलाई पोखरामा स्वागतपछि सामूहिक तस्बिर । तस्बिर नागरिक

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।  

‘हामी इतिहास सिर्जना गर्न चाहन्छौं,’ उनले संक्षिप्त कुराकानीमा भने, ‘हाम्रो लक्ष्य नै फाईनल हो । इतिहास कोर्न चाहन्छौं ।’ नेपाली राष्ट्रिय टोली यतिबेला पोखरामा प्रशिक्षणरत छ । केहीदिनपछि राजधानी काठमाडौं फर्किने छ । काठमाडौंमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भईसकेको छ । साफ च्याम्पियनसिपमा बंगलादेश, श्रीलंका, माल्दिभ्स र भारतले उपाधि जितिसकेका छन् । सन १९९३ मा सेमिफाईनलसम्मको यात्रा तय गरेको नेपाली टोली त्यसभन्दा अघि बढ्न सकेको छैन् ।  

प्रशिक्षक अल्मुताईरीले प्रत्येक पाईलामा एउटै लक्ष्य फाईनल हुने स्पष्ट पारे । ‘स्टेप बाई स्टेप हाम्रो फाईनलको लागि फोकस गर्र्ने छौं,’ उनको भनाई थियो । उनले थपे, ‘हामी पहिलो को हौं बुझ्नुपर्छ । नेपाली राष्ट्रिय टिम मात्रै होईनौं । हामी गोर्खाली हौं । गोर्खालीले कहिले पनि त्याग्दैनौं, छाड्दैनौं ।’ उनले उपाधिको लागि प्रत्येक मिनेट प्रत्येक सेकेण्डसम्म लडिरहने बताए । मानसिक रुपमा समेत हामी गोर्खाली हौै भनेर मैदानमा उत्रिने उनले जिकिर गरे । उनले अन्तिममा आफ्नो फुटबल रिटार्यडपछि अल्लाहको कृपा भए श्रीमतीसँग पोखरा बस्ने बताए । ‘यहाँ प्रत्येककले हामीलाई सहयोग गरेका छन् । त्यसले गर्दापनि पोखरामा निकै खुशी छु ,’ उनको भनाई थियो ।  

शनिबार पोखरामा नेपाली फुटबल टोलीलाई स्वागत गरिएको थियो । फुटबल टोलीसहित गण्डकी प्रदेश खेलकुद  परिषदका नवनियुक्त उपाध्यक्ष ध्वजकुमार गुरुङलाई स्वागत बधाई तथा शुभकामना दिईएको थियो । फुटबल टोलीलाई ईन्जिनियर दिपक बराल, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, सदस्य सचिव  तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की जिल्ला विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतले खादा लगाई स्वागत गरेका थिए ।  

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले खेलकुदका संस्थाहरुले खेलकुदलाई अपनत्व र दायित्व लिएर काम गर्नुपर्नेमा जोड दिए । राखेपमा सदस्य राजेश गुरुङले पोखरा रंगशालामा निर्माणाधिन फुटबल मैदानमा रात्रीकालिन फुटबलको लागि फ्लड लाईट जडान गर्ने तर्फ राखेपले जोड दिदैं आएको बताए । फ्लड लाईटको लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘खेलाडी नभए खेलकुदको संस्थाको कुनै अर्थ हुदैन् ।’ उनको भनाई थियो । उनले जीवनभर खेलकुदमा लागेर राष्ट्रिय तथा अन्तराष्ट्रिय एरिनमा खेलेका खेलाडीलाई चार आनाको जग्गा व्यवस्था गर्न समेत सरकारसँग माग गरेका थिए ।  

प्रकाशित: ५ भाद्र २०७८ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App