१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाली महिला भलिवल: अवसर गुम्दा खेलाडी निराश

खेलाडी भएर अपेक्षा गरिएका प्रतियोगितामा सहभागिता जनाउन नपाउँदा कुन खेलाडी निराश बन्दैन होला ? खेलप्रतिको लगाव र दृढ संकल्प बोकेर खेलमा लागेका खेलाडी मुखैमा आइपुगेको प्रतियोगितामा सहभागी हुन नपाउँदाको क्षण सायदै शब्दले बयान गर्न कठिन नै होला। यस्तै क्षण नेपाली महिला राष्ट्रिय भलिबल टोलीले अघिल्लो महिना भोग्नुपरेको थियो। मुखैको आहारा खोसिएको जस्तै नेपाली महिला भलिबल टोलीले पाउने विरलै मात्र अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर गुमायो। त्यसमाथि पनि उनीहरूले करियरकै सबैभन्दा ठूलो प्रतियोगिता पनि खेल्दै थिए।

तर, फिलिपिन्समा तय एसियन सिनियर महिला भलिबल च्याम्पियसिपमा सहभागिता जनाउने लक्ष्यसहित अभ्यासमा तल्लीन महिला टोलीलाई एउटा तालिकाले निराश बनायो। अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म तय प्रतियोगितामा नेपाल महिला भलिबल टोलीले पहिलोपटक सहभागिता जनाउँदै थियो। तर, अन्तिम समयमा निराश भएर फर्किनुपर्ने बाध्यता स्वीकार गर्नुको विकल्प उनीहरूसँग रहेन। कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको सहभागिता खोसिन पुग्यो। नेपाल खेल्नबाट वञ्चित भयो। महिनौं तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी निराश भए।  

तथापि, कोरोनाकै कारण अहिले आयोजकले अन्तिम समयमा प्रतियोगिता नै स्थगित गरिसकेको छ। जसको कारण नेपालको सहभागिता पुनः हुने सम्भावना बाँकी नै छ। यस अघि नेपाल र भारतलाई बाहिर राखेर तालिका सार्वजनिक गर्दा नेपाली चेली अवसर गुमाउने सँघारमा थिए। महिनौं तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी निराश हुनु स्वाभाविक नै रहन्छ। त्यो तालिकासँगै नेपालले सहभागिता जनाउन नपाउने अवस्थाले खेलाडीको उत्साहमाथि नै असर पुग्यो। टोलीकी कप्तान अरूणा शाहीले ठूलो मौका गुमाउनु पर्दा निराश हुनु स्वाभाविक नै रहेको प्रतिक्रिया दिइन्। ‘नेपाली महिला टोलीलाई इतिहास रच्ने अवसर थियो। के गर्नु ? कोरोना महामारी हाम्रा अगाडि तगारो बन्यो। अहिलेको अवस्थामा दक्षिण एसियामा यसको प्रभाव बढी छ। हामीलाई रेड जोनमा आयोजकले सूचीकृत गर्‍यो,’ कप्तान अरूणाले भनिन्, ‘पछिल्लो समय नेपाली टोलीले राम्रो गर्दै अगाडि बढेको थियो। च्याम्पियनसिपले उदीयमान खेलाडीलाई नयाँ अनुभव दिने आशा थियो। अन्तिममा आएर सम्भव हुन सकेन र केही निराश भएका छौं।’

प्रतियोगितामा सहभागी हुन चैतमा सम्पन्न पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो। पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई साउन १ गते सार्वजनिक गरेको तालिकाले केही निराश बनाएको थियो। तर उनै कप्तानले सबै अवसर सधैं पाउनु कठिन हुने भन्दै अन्तिम समयको निराशालाई आउँदा दिनमा शक्तिको रूपमा बदलेर राम्रो गर्नुपर्ने धारणा राखिन्।  

‘सबै अवसर सधैँ पाइन्छ भन्ने पनि होइन। तर यो अवसर सम्भव थियो। केही त्रुटि, कसैको कमजोरीले भोग्नुपरेको होइन,’ कप्तान अरूणाले थपिन, ‘महामारीलाई अहिले विश्वले झेलिरहेको छ। हामी पनि महामारीलाई झेलिरहेका छौं। यो अवसर गुम्दा एसियन भलिबलले आउँदा दिनमा उच्च प्राथमिकता राखेर त्यस्ता प्रतियोगितामा समावेश गर्ने प्रतिबद्धता दिएको भलिबलका पदाधिकारले हामीलाई सुनाउनुभएको छ। आशा छ, आउँदा दिनमा राम्रो होला।’ आयोजक फिलिपिन्सले साउन महिनाको पहिलो दिन ८ टोलीलाई समावेश गर्दै तालिका सार्वजनिक गर्दा नेपालको अवसर गुमेको थियो। तर, त्यो तालिका पनि स्थगित हुँदा नेपालले अर्को मौका पाउने सम्भावना छ।  

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टले पनि अन्तिम समयमा स्थगित भएको प्रतियोगिता पुनः आयोजना हुँदा नेपालले सहभागिता जनाउने सम्भावना रहेको जानकारी दिए। कोरोना भाइरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभिसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए। निराश मुख्य प्रशिक्षक पनि थिए। किनभने त्यतिबेला धनगढीबाट कठिन यात्रालाई छिचोलेर प्रशिक्षणकै लागि उनी काठमाडौं आएका थिए। प्रशिक्षक भट्टले ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे।  

‘दक्षिण एसियाली खेलकुदमा नेपाली महिला टोलीले राम्रो गर्न सक्यो। सबैबाट प्रशंसा पाएको छ,’ प्रशिक्षक भट्टले भने, ‘विगतको खेल हेर्दा प्रतिस्पर्धाका लागि भन्दा पनि सहभागिताका लागि जस्तो देखिन्थ्यो। तर अहिले अवस्था फेरिएको छ। खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्नुपर्छ भन्ने मनोविज्ञान विकास भएको छ। केही वर्षयताको प्रदर्शनका आधारमा भन्नुपर्दा खेलाडी कोर्टमा विपक्षीसँग प्रतिस्पर्धा गर्न आतुर देखिन्छन्।’ कोभिडका कारण झन्डै डेढ वर्ष रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितालाई एसियन च्याम्पियनसिपबाट बिट मार्ने नेपालको लक्ष्य अधुरै बनेको छ।  

पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियाली प्रतियोगितामा सहभागिता जनाउने लक्ष्यमा तुसारापात भएको छ। अनि अनुभव बटुल्ने योजनामा पनि कोभिड महामारी तगारो भयो। प्रतियोगिताको तयारीका लागि नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षणसमेत सुरु गरेको थियो। संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो। संघले दोस्रो चरणमा ९ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारीलाई तीव्रता दिएको थियो। प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एसियन सेन्ट्रल जोन भलिबलले आयोजना गर्ने प्रतियोगितामा उच्च प्राथमिकता दिनेसमेत बताएको मुख्य प्रशिक्षक भट्टले उल्लेख गरे। कोरोना महामारीले धेरै क्षेत्र ठप्प भएजस्तो खेल क्षेत्र अझै उठ्न सकेको छैन।  

यसको तात्पर्य भलिबल तालिकामा रहेका प्रतियोगिता कोरोनाकै कारण आयोजना हुन सकेका छैनन्। अर्को पाटोलाई केलाउने हो भने अभिभावक संस्था नेपाल भलिबल संघ आर्थिक र भौतिक रूपमा बलियो छैन। सहभागिता जनाउन नपाएर घर फर्किएका खेलाडीलाई व्यस्त बनाउने विकल्प पनि संघले बनाउन सकेको छैन। स्थगित भएका प्रतियोगिता सुचारुका लागि कुनै योजना पनि संघमा छैन। आफैंले आयोजना गर्ने प्रतियोगितामा बल्लबल्ल प्रायोजक भेला पार्ने संघको फुटबल, क्रिकेटमा जस्तो आफ्नै प्रशिक्षणस्थल पनि छैन। राष्ट्रिय खेल भए पनि सरकारले बजेट वा पूर्वाधारमा खासै ध्यान दिन सकेको छैन। प्रतियोगिताको मिति अन्तिम हुने अवस्थामा केही महिनाको प्रशिक्षणमा टोलीले प्रतियोगिता खेल्नुपर्ने बाध्यता छ।

प्रकाशित: ३० श्रावण २०७८ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App