१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पोखरा रंगशाला पूर्वाधारः फुटबल मैदानमा फ्लड लाईट राख्न पाँच करोड

पोखरा रंगशाला

पोखरा रंगशाला फुटबल मैदानमा फ्लड लाईट जडान गर्न राष्ट्रिय खेलकुद परिषदले रातो किताबमै ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

तीनवर्ष अघि शुरु गरिएको पोखरा रंगशाला फुटबल मैदानलाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार बनाउन अनिवार्य रुपमा लाईट हुनुपर्ने प्रावधान छ । लाईट नहुँदा फुटबलको सर्वोच्च निकाय फिफाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि स्वीकृति भने दिदैन । त्यसैले पनि परिषदले फुटबल मैदानमा फ्लड लाईट जडान गर्न बजेट छुट्टाएको हो ।  

फ्लड लाईटको लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ । दोस्रो र तेस्रो त्रैमासिकमा साढे दुई करोड रुपैयाँको दरमा खर्च गर्ने गरी छुट्टाइएको राष्ट्रिय खेलकुद परिषदका कार्यकारी समिति सचिव कुलबहादुर थापाले बताए । ‘फ्लड लाईटलाई पनि बजेट छ,’ उनले भने ।  

एक अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदान निर्माणको अन्तिम चरणमा छ । १६ हजार ५ सय क्षमताको दर्शक प्यारापिट छ । परिषदले नै पूर्वतर्फ बनाउने भवनको स्वीकृति अझै दिएको छैन् । ‘भवन बनाउने स्वीकृति आईसकेको छैन्,’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी)का ठेकेदार कम्पनी प्रोजेक्ट म्यानेजर दिपक बरालले भने, ‘अब छिट्टै काम टुंग्याएर हस्तान्तरण गर्ने तयारीमा छौं ।’  

परिषदले पोखरा रंगशालामा ओभरहेड ट्यांकी निर्माणको लागि समेत एककरोड रुपैयाँ छुट्टाएको छ । ‘पूर्वाधारको लागि बोलपत्र आह्वान भदौभित्र गर्नुपर्ने छ,’ परिषदका कार्यकारी समितिका सचिव थापाले भने, ‘पूर्वाधारको काम ढिला हुँदा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित हुन सक्छ ।’ पोखरा रंगशाला फुटबल मैदानमै नेपाल र भारत बीचको मैत्रीपूर्ण खेल खेलाउने योजना समेत अघि सारिएको छ ।

फ्लड लाईट चारैकुनामा राखिने छ । लाईट राख्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले रोक लगाउँदै आएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि लाईट अनिवार्य मानिन्छ । साँझ वा रातमा खेलाईने खेलकै लागि लाईट जडान गर्नुपर्ने हुन्छ । लाईटको लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले समेत पहलकदमी गर्दै आएको थियो ।  पोखरा रंगशालाभित्रै पौडी पोखरीलाई ६ करोड रुपैयाँ बजेट परिषदले छट्टाईसकेको छ । ‘रातो किताबमै छ बजेट,’ उनले भने, ‘त्यसैले छिटो बोलपत्र आह्वान गर्नुपर्ने खाँचो छ ।’ सुटिङ रेन्जको लागि परिषदले २ करोड रुपैयाँ बजेट राखेको छ ।  

पौडी पोखरीको लागि दोस्रो त्रैमासिकमा १ करोड, तेस्रो त्रैमासिकका ४ करोड र चौथो त्रैमासिकमा १ करोड खर्च गर्ने योजना परिषदको छ । त्यसैगरी सुटिङ रेन्जको लागि दोस्रो त्रैमासिकमा ५०लाख, तेस्रो त्रैमासिकमा १ करोड र चौथो त्रैमासिकमा ५० लाख खर्च गर्ने परिषदले उल्लेख गरेको छ । त्यसैगरी पोखरा रंगशाला क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाईएको छ । त्यो पनि पहिलो त्रैमासिकमा ३० लाख, दोस्रो त्रैमासिकमा ३५ करोड र तेस्रो त्रैमासिकका ३५ लाख रुपैयाँ बजेट राखिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारको लागि परिषदले ५० लाख रुपैयाँ छुट्टाएको छ । जिल्लाका पूर्वाधारको लागि १० लाख रुपैयाँको दरले बजेट छ । कतिपय जिल्लामा पूर्वाधार निर्माणाधिन अवस्थामै छन् । 

प्रकाशित: २४ श्रावण २०७८ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App