coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मेसीको बहिर्गमन ला लिगाकै लागि घाटा

अर्जेन्टिनी कप्तान लियोनल मेसीले बार्सिलोना छोडेसँगै उनको नयाँ गन्तव्यका बारेमा चर्चा चुलिएको छ। अधिकांशले मेसीले छोडेसँगै बार्सिलोनाको भविष्य नै संकटमा परेको बताएका छन् तर केहीले भने बार्सिलोनाबाट मेसीको बहिर्गमनले समग्र ला लिगाको स्तर नै घट्ने बताएका छन्।

केही समयअघिसम्म स्पेनिस ला लिगा विश्वका चर्चित खेलाडीको पहिलो रोजाइ हुने गर्दथ्यो। तर अहिले खेलाडीको रोजाइसमेत परिवर्तन भइरहेको छ। नेइमारले सन् २०१७ मा बार्सिलोना छोड्दै पेरिस सेन्ट जर्मन (पिएसजी) रोजे भने रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो त्यसको एक वर्षपछि युभेन्ट्समा आबद्ध भए। त्यस्तै गत महिनामा मात्र रियाल मड्रिडका सफल कप्तान सर्जियो रामोस पनि ला लिगालाई बिट मार्दै पिएसजीमा अनुबन्धित भए।

बिहीबार बार्सिलोनाले ला लिगाको आर्थिक नियमका कारण मेसीसँग चाहना हुँदाहुँदै पनि सम्झौता अन्त्य गर्नुपर्ने बाध्यतामा परेको दाबी गरेको थियो। यद्यपि मेसीले गत सिजनै क्लबमा बस्न इच्छुक नभएको  बताएका थिए।

१७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका मेसीले १७ वर्षपछि क्याम्प नोउबाट बिदा लिएका हुन्। लिग वान क्लब पिएसजीले मेसीलाई अनुबन्धित गर्ने प्रयास भइरहेको बताएको छ। स्पेनका फुटबल विश्लेषकहरूले मेसीको बर्हिगमन बार्सिलोनाका लागि मात्र नभई समग्र ला लिगाकै लागि खराब भएको बताए। ‘यो ठूलो घाटा हो,’ युनिभर्सिटी अफ ओभिडोका प्राध्यापक पाल्सिडो रोर्डग्वेज गुइरेरोले भने, ‘यसको प्रत्यक्ष असर सबै क्षेत्रमा पर्नेछ। यसले क्लबको र ला लिगाको प्रायोजनमा समेत विशेष अर्थ राख्नेछ।’

बार्सिलाना र रियाल मड्रिडले सन् २०१४ देखि २०१८ सम्म गरी समग्रमा ५ पटक च्याम्पियन्स लिग जितेका छन्। तर अहिले यी दुवै क्लबले च्याम्पियन्स लिगमा आफ्नो दरिलो उपस्थिति जनाउन सकिरहेका छैनन्। ‘नाम चलेका खेलाडीमध्ये मेसी मात्र अहिले ला लिगामा बाँकी थिए र यसो गरी अन्य केही चर्चित खेलाडीले क्लब छा्ड्दै जाने हो भने ला लिगाको भविष्य नै अन्योलमा पर्नेछ। ला लिगाप्रति समर्थकको आकर्षण घट्नेछ,’ बार्सिलोनाका आर्थिक तथा सञ्चार विज्ञ मार्स सेरियाले हालैको अन्तर्वार्तामा भनेका थिए। बार्सिलोना र रियाल मड्रिडबीचको ला लिगा भिडन्त एल क्लासिको विश्वका धेरै समर्थकका लागि आकर्षणको केन्द्रबिन्दु रहँदै आएको छ। करिब एक दशक एल क्लासिको मेसी र रोनाल्डोबीचको भिडन्तका रूपमा समेत रह्यो।

यसअघि ला लिगाका केही साना क्लबले समेत ला लिगाको गरिमा राखिराख्न पनि बार्सिलोनाले मेसीलाई अन्यत्र पठाउन नहुने सुझाव दिँदै आएका थिए। ‘ला लिगाले मेसीलाई गुमाउनु हुँदैनथ्यो,’ गेटाफेका अध्यक्ष एन्जेल टोरेसले भने, ‘यो एउटा यस्तो गल्ती हो, जसबाट हामी सबै पछुताउनेछौं। ला लिगाले विश्वकै स्टार खेलाडीलाई गुमाउनुपर्‍यो ।’

प्रकाशित: २४ श्रावण २०७८ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App