२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ऊहापोहबीच सकिँदै ओलम्पिक

कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन्। 

लामो इतिहास बोकेको खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो आयोजना ओलम्पिक हुँदा पनि स्वाभाविक रूपमा सोही प्रक्रिया हुने गर्छ। तर, १ सय २५ वर्षे ओलम्पिक इतिहास यस पटक भने फरक रह्यो। ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक आइतबार सम्पन्न हुँदै छ। खेलका प्रतिस्पर्धा पहिल्यैदेखि सुरु भए पनि टोकियो ओलम्पिकको उद्घाटन भने गत जुलाई २४ मा भएको थियो। देशभित्रबाटै विरोधका आवाज गुन्जिरहँदा ५७ वर्षपछि जापान फर्किएको ओलम्पिक सम्पन्न हुँदै छ। सन् १८९६ को एथेन्सबाट सुरु विश्व खेलकुदको महाकुम्भ हरेक देशका लागि ठूलो पर्व र गर्वको विषय हुने गर्दछ।

साथै विश्वका ठूला राष्ट्रबीच ओलम्पिकमार्फत शक्ति प्रदर्शनको होडबाजी नै चल्ने गर्दछ। त्यसैले विश्व खेलकुदको महाकुम्भ आयोजना गर्नमा विश्वका शक्ति राष्ट्रहरू रस्साकस्सी नै गर्छन्। ती देशका जनताका लागि पनि ओलम्पिक विशेष बन्ने गरेको छ। देशका योजनामा उनीहरू रमाउनु स्वाभाविक पनि रहन्छ। तर, यस पटकको ओलम्पिक भने हरेक किसिमले समस्यामा पर्‍यो। देशका ८० प्रतिशत जनता ओलम्पिकको विपक्षमा देखिए। अझ आयोजना नै रद्द हुन सक्ने अवस्थाबाट पनि टोकियो ओलम्पिक २०२० ले गुज्रनुपर्‍यो। सन् २०२० मा विश्वभर कोरोना भाइरसको महामारी फैंलिरहँदा आयोजना पनि नजिकिँदै थियो। यस्तो स्थितिमा ओलम्पिक आयोजना नै दुबिधामा हुनु स्वाभाविक रहन्छ। तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र आयोजक जापान जसरी भए पनि आयोजना गर्ने पक्षमा थिए। यसैबीच ओलम्पिकका सहभागी हुने विभिन्न देशले आयोजना भए बहिष्कार गर्ने चेतावनी दिइरहेका थिए। सोहीअनुरूप क्यानाडा र अस्ट्रेलियालगायत राष्ट्रले टोकियो ओलम्पिक २०२० बहिष्कार नै गरे।  

विश्व स्वास्थ्य संगठन, विश्व मानवअधिकार संस्था र देशभित्रकै स्वास्थ्य विज्ञहरूले आयोजना रोक्न सुझाव दिइरहँदा जापान पनि निकै दबाबमा परिसकेको थियो। त्यसैले पनि आइओसी र जापानमाथि ओलम्पिक सार्न चर्को दबाब नै पर्‍यो। टोकियो ओलम्पिक आयोजना सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुँदै थियो। बढ्दो महामारी र चौतर्फी दबाबका कारण आइओसी र आयोजक नयाँ मिति सार्न बाध्य भए। सन् २०२० को आयोजना एक वर्ष पछि धकेलिँदा सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ का लागि तय हुन पुग्यो। तथापि, जापानका नागरिक भने कुनै पनि हालत देशभित्र आयोजना गर्न नहुने पक्षमा थिए। 

महामारीले थलिएका जनताको करबाट उठाएको पैसाले आयोजना गर्नु गलत हुने उनीहरूको बुझाइ थियो। त्यसैले त्यहाँका जनताले आयोजना रद्द या अन्यत्र सारिनुपर्ने माग गरिरहे। कठिन समयमा रहेका जनतालाई सहयोग गर्नुपर्ने उनीहरूको माग थियो। टोकियोमा पहिलो पटक सन् १९६४ को ओलम्पिक आयोजना भएको थियो। त्यसपछि जापानले दोस्रो अवसर कुर्न ५७ वर्ष नै प्रतीक्षा गर्नुपर्‍यो। यसरी आयोजना नै रद्द गर्दा जापानप्रति गलत सन्देश जाने र आइओसीले पनि भविष्यमा जापानलाई आयोजना दिन सोच्ने भय स्वयम् जापानी खेलनिकायलाई थियो। त्यसैले आयोजक जापान यो आयोजना रद्द गर्ने या अन्यत्र पठाउने पक्षमा थिएन। त्यसमाथि स्वयम् आइओसीले पनि जापानलाई साथ र भरोसा दियो। आइओसीले नै जापानका नागरिकलाई यो आयोजनालाई समर्थन र सहयोग गर्न आह्वान गरिरह्यो।

नयाँ मितिको आयोजना नजिकिँदै गर्दा गरिएका सर्वेक्षणमा पनि ८० प्रतिशत जनता आयोजनाको विपक्षमा उभिए। स्वाभाविक रूपमा यसले जापान र स्वयम् आइओसीलाई पनि ठूलो दबाब पार्‍यो। यसैबीच कोभिड–१९ का कारण आइओसी र आयोजकले बाहिर देशका समर्थकलाई टोकियो ओलम्पिकमा रोक लगाइसकेका थिए। अन्य देशबाट जापानमा कोरोनाको महामारी थप दयनीय अवस्थामा पुग्ने आकलन गरिरहेका जनतालाई यो निर्णयले केही राहत भने मिल्यो। हर तवरबाट आयोजक र आइओसीले जापानी जनताको मन जित्ने प्रयास गरे। तर, खासै सफलता मिलेन। उनीहरू आयोजनाको पक्षमै देखिएनन्। कडा स्वास्थ्य सुरक्षाका बावजुद ओलम्पिक भिलेजमा रहेका खेलाडीमाथि नै कोरोना संक्रमण हुन थालेपछि त्यहाँका जनताले झन् चर्को विरोध गरे। 

आइओसी र आयोजकले भने यो नियन्त्रणभन्दा बाहिर नजाने स्पष्ट पारे। उनीहरूले भनेअनुरूप भिलेजमा संक्रमणका घटना पनि फाट्टफुट्ट मात्र देखिए। आयोजकले भिलेजमा छुट्टै कोभिड–१९ को स्वास्थ्य केन्द्र खडा गर्‍यो। दैनिकजसो खेलाडीमा कोभिड परीक्षण पनि गर्‍यो। कोभिड संक्रमण हुन नदिन खेल सकिएको ४८ घन्टाभित्र देश छाड्नुपर्नेलगायत निकै कठोर रणनीति पनि अपनायो। त्यसले पनि केही हदसम्म ओलम्पिकमा ठूलो क्षति हुन पाएन।  

आयोजकले ओलम्पिक उद्घाटनमा पनि निकै संयम अपाउने उद्घोष गरेको थियो। सोहीअनुरूप उनीहरूले उद्घाटन समारोहमा हुने भौतिक सम्मेलनमा अंकुश लगाए। प्रत्येक देशबाट सीमित खेलाडी र ६ अफिसियललाई मात्र उद्घाटनमा प्रवेश दिए। खेलका प्रतिस्पर्धामा पनि टोकियो ओलम्पिक आयोजकले सीमित घरेलु दर्शकलाई मात्र प्रवेश दिए। जुन लट्री सिस्टमबाट आयोजकले टोकियो ओलम्पिकका खेल हेर्न सीमितलाई अवसर दिएको थियो। तर, उनीहरूले सोचेअनुरूप भने हुन सकेन। टिकट पाएका केही जनताले पनि महामारीका कारण ओलम्पिक खेल हेर्न जाने की नजानेमा दुबिधा प्रकट गरे।  

जनताकै विरोधका कारण टोयोटा कम्पनीले पनि प्रायोजकबाट नाम फिर्ता लियो। कम्पनीले त्यहाँका जनतामाथि सहानुभूति दिने प्रयास गर्‍यो। केही हदसम्म उसको यो बिजेनस पोलिसीअन्तर्गत पनि थियो। उद्घाटनमा प्रत्यक्ष सहभागीले पनि ओलम्पिकको स्वाभाविक समारोह टोकियो ओलम्पिकमा देख्न पाएनन्। तर, टिभीमा भएका प्रत्यक्ष प्रसारणमा भने आयोजना भव्य नै देखियो। अत्याधुनिक प्रविधि र पूर्व रेकर्ड गरिएका कार्यक्रममार्फत जापानले आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयास गर्‍यो। सोचेअनुरूप सफलता पाउन भने सकेन। तर, २ सय पाँच राष्ट्रका ११ हजार ९० खेलाडीले भने आफ्नो शक्ति प्रदर्शन गर्न कुनै कसर बाँकी राखेनन्। यस पटक ओलम्पिकका अधिकांश प्रतिस्पर्धा दर्शकबिना नै भए।  

तर, पनि खेलाडीले आफ्नो खेल कौशलमार्फत दर्शकबिनाका प्रतिस्पर्धालाई जीवन्त राख्ने प्रयास गरे। जसको आइओसीका अध्यक्ष थोमस बाचले पनि खुलेरै तारिफ गरेका छन्। रियो ओलम्पिकको समापन समारोहदेखि चर्चामा रहेको टोकियो ओलम्पिक राजनीतिक घटनाले चर्चामा रह्यो। आफ्नै देशसँग विद्रोह गरेर बेलारूसबाट आएकी ओलम्पियन क्रिस्टिना सिमानौस्कायाले निर्वासित हुनुपर्‍यो।

राष्ट्रपतिका छोरा भिक्टोर लुकासेन्को अध्यक्ष रहेको ओलम्पिक कमिटी र राष्ट्रिय टोलीमाथि असक्षमताको आरोप लगाएपछि उनलाई प्रतिस्पर्धाअगावै घर फर्काइने बताइयो। तर, देशमा असुरक्षा रहेको भन्दै बेलारूस जान अस्वीकार गर्दै उनले विश्वजगत्सँग शरण मागिन्। उनलाई शरण दिन विभिन्न देश तयार भए पनि अन्ततः उनले पोल्यान्ड रोजिन्। त्यसैबीच आइओसीले बेलारूससँग स्पष्टीकरण नै माग्यो। क्रिस्टिनाले आरोप लगाएका दुई प्रशिक्षकलाई पनि आइओसीले कारबाही गर्दै फिर्ता पठायो। ओलम्पिकका प्रतिस्पर्धा चलिरहँदा केही खेलाडीले मानसिक स्वास्थ्य समस्याका कारण खेल नै त्यागे। 

अमेरिकाकी जिम्न्यास्टिक स्टार सिमोनी बाइल्सले आफूले प्रतिस्पर्धा गर्ने ६ मध्ये १ विधामा मात्र प्रतिस्पर्धा गरिन्। स्वर्ण दाबेदार मानिएकी बाइल्सको टोकियो ओलम्पिक यात्रा अन्ततः एक कांस्य पदकका साथ अन्त्य भयो। उनले मानसिक रूपमा फिट नभन्दै अन्य ५ विधाबाट नाम फिर्ता लिएकी थिइन्। त्यस्तै ब्रिटेनका एडम पिइटेले पनि मानसिक रूपमा फिट रहनैका लागि महिना दिन खेलबाट विश्राम लिने घोषणा गरे। बाइल्सको केही विधा छोड्ने निर्णयको धेरैले सराहना गरे पनि केहीले उनको निर्णयप्रति आपत्ति जनाए।  

‘मेरो मानसिक र शारीरिक स्वास्थ्य पदकभन्दा माथि छ,’ ओलम्पिक इतिहासमा ४ स्वर्णसहित कुल ७ पदक विजेता २४ वर्षीया बाइल्सले आफ्नो निर्णयबारे बताएकी थिइन्। पिइटेले पनि आफूमाथि पदक जित्नैपर्ने चरम दबाब रहेको भन्दै प्रतियोगितापछि मानसिक रूपमा स्वस्थ हुनकै लागि करिब एक महिना खेलबाट अलग हुने बताएका थिए। यस ओलम्पिक खेलाडीको प्रदर्शनबाहेक पनि महामारीको चपेटा, देशभित्रकै जनताको विरोध, राजनीति प्रतिशोध र खेलाडीको मानसिक स्वास्थ्य समस्यालगायत विषयले चर्चामा रह्यो। जुन आइतबार सम्पन्न हुँदै छ। 

तर, सबैभन्दा ठूलो प्रश्न अझैं पनि छ ? के आयोजनाको विपक्षमा रहेका जनताले ओलम्पिकको सुखद बिदाइ गर्लान् त ? अन्तमा भए पनि उनीहरूले १ सय २५ वर्षे इतिहास बोकेको ३२औं आयोजनाको अपनत्व ग्रहण गर्छन् कि गर्दैनन् ?

प्रकाशित: २४ श्रावण २०७८ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App