७ वैशाख २०८१ शुक्रबार
खेल

हृदयाघातपछि पनि स्वर्ण

नेदरल्यान्ड्सकी सान ब्रस्पेनिक्स ६ वर्षअघि हृदयाघात भएपछि कमैले मात्र उनले खेलजीवनलाई निरन्तरता दिन्छिन् भन्ने अनुमान गरेका थिए। तर ओलम्पिक स्वर्ण सपना साकार पार्न भन्दै ब्रस्पेनिक्स खेलमा फर्किइन् र अन्ततः बिहीबार महिला ट्रयाक साइक्लिङमा स्वर्ण जितिन्।

ब्रस्पेनिक्सले स्वर्ण जित्ने क्रममा न्युजिल्यान्डकी एलिसे एन्ड्य्रिुजलाई ०.०६१ सेकेन्डले पछि पारिन्। यस विधामा क्यानाडाकी लौराने जेनेस्टले कांस्य पदक जितिन्। नेदरल्यान्ड्सले टोकियो ओलम्पिक २०२० को साइक्लिङतर्फ आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने क्रममा ८ पदक जितेको छ, जसमध्ये ४ वटा स्वर्ण पदक रहेको छ। त्यस्तै ब्रिटेनले पनि साइक्लिङतर्फ ४ स्वर्ण पदक जितेको छ। सन् २०१५ मा एक प्रतियोगिता दौरान असहज महसुस गरेपछि ब्रस्पेनिक्सलाई अस्पताल  पुर्‍याइएको थियो, जहाँ उनलाई हृदयाघात भएको पुष्टि भएको थियो।

सो घटनापछि ३० वर्षे ब्रस्पेनिक्सको खेलजीवन अन्त्य भएको अनुमान गरिए पनि उनी त्यसलाई गलत साबित गर्दै मैदान फर्किएकी थिइन्। ‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको   थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।  

करिब ७ महिनापछि मात्र मलाई चिकित्सकले अभ्यास सुचारु गर्न ग्रिन सिग्नल दिएका थिए। मलाई स्वाभाविक लयमा फर्कन पनि सहज थिएन। ‘मलाई स्वाभाविक लयमा फर्कन केही वर्ष लाग्यो। लगातारको मिहिनेतले ममा आत्मविश्वास फर्कियो,’ ब्रस्पेनिक्सले भनिन्, ‘मैले अझै पनि चिकित्सकको सल्लाहमा औषधी सेवन गरिरहेको छु। परिवार, साथीभाइ, प्रशिक्षक र चिकित्सककै हौसलामा म आज ओलम्पिकमा स्वर्ण जित्न सफल भएँ। म अहिले मानसिक र शारीरिक रूपमा फिट छु।’

प्रकाशित: २२ श्रावण २०७८ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App