६ वैशाख २०८१ बिहीबार
खेल

टिनेजर क्वानलाई सफलता

चीनकी टिनेजर क्वान होङचानले बिहीबार तीन उत्कृष्ट डाइभ गर्दै महिला १० मिटर प्ल्याटफर्ममा स्वर्ण जितेकी छन्।१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियन समेत हुन्। उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले ४६६.२० स्कोर ल्याउँदै स्वर्ण जितेपछि चौतर्फी प्रशंसासमेत बटुलिन्। तथापि, उनले आफूमा विलक्षण प्रतिभा नभएको र विद्यालयमा पनि यस्तै किसिमको सफलताको आनन्द लिने नगरेको बताइन्। ‘म प्रशंसाको पात्र हुँ भन्ने लाग्दैन। म त्यस्तो उत्कृष्ट प्रतिभा पनि होइन,’ उनले भनिन्, ‘किनकि मैले आफ्नो पढाइमा उत्कष्ट गर्न सकेको छैन। यदि मलाई धेरै प्रश्न सोधियो भने मसँग त्यसको जवाफ पनि हुँदैन। मेरो मस्तिष्क खालीजस्तै छ।’  

यता, क्वानसँग पराजित १५ वर्षीया चेनले यसै ओलम्पिकको १० मिटर सिङ्क्रोनाइज इभेन्टमा स्वर्ण जित्दै आफ्नो डिफेन्डिङ च्याम्पियनको उपाधि सुरक्षित गरेकी थिइन् तर १० मिटरको प्ल्याटफर्ममा भने उनी क्वानसँग ३९.८० स्कोरले पछि परिन्। यसै विधामा कुल ३७१.४० अंकसहित अस्ट्रेलियाकी मेलिसा यु भने कांस्य पदक जित्न सफल भइन्। क्वान सबै सात जजबाट प्राप्त हुने परफेक्ट–१० स्कोरबाट पनि सम्मानित भइन्। उनले दोस्रो र तेस्रो डाइभमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। पाँचौं प्रयासमा पनि उनलाई छैटौं जजले १० अंक र अर्कोले ९.५ स्कोर प्रदान गरेका थिए। त्यससँगै उनलाई जितका लागि सहज बाटो मिलेको थियो।

क्वानले आगामी पेरिस ओलम्पिकमा पनि आफ्नी बहिनीलाई प्रतिस्पर्धाका लागि प्रोत्साहन गर्ने बताएकी छन्। ‘म मेरी बहिनीलाई पनि कडा मिहिनेत गर्न भन्नेछु,’ क्वानले भनिन्, ‘मैले पनि पछिल्ला वर्ष राम्रो प्रशिक्षण गरेकी थिएँ। सन् २०२४ को ओलम्पिकमा पनि राम्रो तयारी गर्नेछु।’ चीनले सातमध्ये डाइभिङ इभेन्टमा ६ स्वर्ण जितिसकेको छ। पाँच वर्षअघि रियो ओलम्पिकमा पनि आठमध्ये सात विधामा चीनले स्वर्ण जितेको थियो। 

प्रकाशित: २२ श्रावण २०७८ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App