६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मुस्ताङ हाई अल्टिच्युड भलिबल, चराङको संघर्षपूर्ण जित

मुस्ताङमा सञ्चालित हाईअल्टिच्युड खेलकुद प्रतियोगिताको आइतबार चौथो दिन भलिबलका तीन खेलिएको छ । जनचेतना युवा क्लब ढाकमारको आयोजनामा ढाकमार खेलमैदानमा सञ्चालित प्रतियोगिता अन्तर्गत आईतबार भलिबलको पहिलो खेलमा टुक्सुम्बा युवा क्लब घमीले स्नोल्याण्ड युवा क्लब ठोवा टिम एलाई सोझो सेटमा पराजित गरेको छ ।  

लिगचरण अन्तर्गतकै खेलमा घमीले २५–११, २५–१३ को सेटमा पराजित गर्दै अगाडि बढ्यो । खेलमा घमीका पेमा ग्याल्पो म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोस्रो खेलमा बुद्धशान्ति युवा क्लब चराङ टिम एले जनचेतना युवा क्लब ढाकमारलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्यो । चराङले २७–२५ मा पहिलो सेट लिदैं दबाव दिएपनि दोस्रो सेट भने ढाकमारले १८–२५ ले सेट जित्दै आफनो पक्षमा पारेपछि निर्णायक सेटमा खेल धकेलियो । निर्णायक सेटमा चराङले ढाकमरमाथि २५–१७ ले लिदैं जित सुनिश्चित गर्यो ।  

तेस्रो खेलमा उदय श्री युवा क्लब घिलिङ टिम बीले माउण्ट कैशाख युवा क्लब किमलिङलाई २५–१४, २५–१७ सेटले पराजित गरेको थियो । जितको हकदार बनेको घिलिङका कुङगा निमा म्यान अफ दि म्याच घोषित भए । भलिबल बेष्ट अफ थ्री र फाईनल मात्रै बेष्ट अफ फाईभमा प्रतिस्पर्धा गर्ने छन् । फुटबल भने १० जना खेलाडी मैदानमा उत्रिने छन् । फुटबलमा ३०÷३० मिनेटको प्रतिस्पर्धा गराईएको छ । प्रतियोगितामा फुटबल विजेताले १ लाख १ हजार १ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड पदक तथा प्रमाणपत्र पाउने छन् । उपविजेताले ५० हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्ने छ । भलिबल तर्फ विजेताले ७५ हजार र उपविजेताले ३७ हजार पाँच सय ५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक जनचेतना युवा क्लब ढाकमारका अध्यक्ष भुजुङ गुरुङले जानकारी दिए ।  

प्रकाशित: १७ श्रावण २०७८ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App