८ वैशाख २०८१ शनिबार
खेल

पोखरा रंगशाला फुटबल मैदानलाई मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड बनाउने प्रस्ताव

पोखरा रंगशाला । फाइल तस्बिरः नागरिक

अखिल नेपाल फुटबल संघ शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि सारेको छ । यद्यपी प्रस्तावको निर्णय भईसकेको छैन् ।

गण्डकी प्रदेशकै सफल क्लब मनाङ मस्र्याङ्दीलाई पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने विषयमा छलफल समेत भईसकेको छ । क्लबका पदाधिकारी तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका पदाधिकारी बीच छलफल भएको छ । छलफलले सकारात्मक निष्कर्ष निकालेको छ ।  

‘क्लबका पदाधिकारीसँगको छलफलले सकारात्मक निर्णय गरेको छ । मनाङ मस्र्याङ्दीलाई होम ग्राउण्ड बनाउन दिने विषयमा समिति सकारात्मक छ,’ पश्चिमाञ्चल क्षेत्रीय  खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मणप्रसाद योगीले भने ‘सम्झौता राष्ट्रिय खेलकुद परिषदले नै गर्छ ।’ उनका अनुसार परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल ओलम्पिकबाट फर्किएपछि निर्णय हुनेछ । पुरानो संरचना हटाई पोखरा रंगशाला फुटबल मैदानको नयाँ संरचना निर्माण गरिएको हो ।

एकअर्ब २८ करोड रुपैयाँको लागतमा फुटबल मैदान एवं प्यारापिट निर्माण गरिएको छ । प्यारापिट १६ हजार ५ सय दर्शक क्षमताको छ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्छन् । लिग अन्तर्गत आफनै मैदानमा खेल्दा प्राप्त टिकटको शुल्कको आम्दानी भने क्लबले नै लिन पाउँछ । तर क्लबले पोखरा रंगशाला फुटबल मैदानलाई घरेलु मैदान बनाउँदा परिषदले शुल्कसहित सर्तहरु अघि सार्न सक्छ ।  

सहारा क्लब पोखराले वर्षेनी रंगशालाको फुटबल मैदान आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दा शुल्क तिर्ने गरेको छ । सहाराले प्रतियोगिताको लागि ४ लाख रुपैयाँसम्म मैदानको शुल्क बुझाउँदै आएको छ । मनाङ मस्र्याङ्दी क्लबले पनि होम ग्राउण्ड बनाई उपयोग गरेवापत निश्चित शुल्क तिर्नुपर्ने पर्छ । ‘शुल्क र सर्तका विषयमा परिषदबाटै टुंगो लाग्छ,’ क्षेत्रीय प्रमुख योगीले सुनाए ।  

मनाङ मस्र्याङ्दी क्लबका सदस्य विजय घलेले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको उपस्थितिमा राखेपका क्षेत्रीय समितिका पदाधिकारीसँग एक चरणको छलफल भएको बताए । ‘पोखरामा छलफल गर्यौं । तर सबै निर्णय राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवसँग छलफल गरेर टुंग्याउँछौं,’ उनको भनाई थियो । उनका अनुसार होम ग्राउण्ड बनाएपछि पोखरामा लिगका ६ देखि १० खेल पोखरा रंगशाला फुटबल मैदानमा खेलाउने सोंच छ । अवे खेल्ने टोलीलाई राख्नुपर्ने अवस्थाकै कारण टिकेटिङ उठाउनुपर्ने अवस्था रहन्छ ।  

‘मैदानको शुल्क सम्बन्धी अन्तिम निर्णय भएको छैन्,’ उनले भने, ‘हामीले मैदान उपयोग गरेपछि हाम्रो पनि योगदान हुनुपर्छ भन्ने मान्यता छ ।’ उनले कोभिडको असर कस्तो रहन्छ त्यसले पोखरामा खेल खेलाउने कि नखेलाउने भन्ने निर्णय गरिने स्पष्ट पारे । कोभिडको असरले खेल क्षेत्रलाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ । 

प्रकाशित: १३ श्रावण २०७८ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App