२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

छानबिनका लागि स्वतन्त्र समिति

टिकटबिना रंगशाला प्रवेश

युरो कप २०२० को फाइनलमा टिकटबिना वेम्बली रंगशालामा प्रवेश गर्ने समर्थकको छानबिनका लागि इङ्लिस फुटबल एसोसियन (एफए) एक स्वतन्त्र छानबिन कमिसन गठन गरेको छ।  

भ्रमणकारी टोली इटालीले इङ्ल्यान्डसँग युरो कपको उपाधिका लागि खेल्दा हजारौं समर्थक बिनाटिकट रंगशाला प्रवेश गरेका रिपोर्ट सार्वजनिक भएका थिए। टिकटबिना अनधिकृत रूपमा रंगशालाको ढोकाबाट प्रवेश गरेका समर्थकले खेलको दौरानमा अपाच्य क्रियाकलाप देखाएका थिए। जुन खेल भावनाविपरीत रहेको एफएले ठहर गरेको छ।  

फाइनल खेलको दिन रंगशालाबाहिर २ लाखभन्दा बढी समर्थक उपस्थित हुने अनुमान गरिएको थियो। ६७ हजार ५ सय क्षमता भएको रंगशालामा हजारौं समर्थक टिकटबिना प्रवेश गरेका र केही समर्थकले मादक पदार्थ सेवन गरेर उच्छृङ्खल गतिविधि देखाएका रिपोर्ट बाहिरिएका थिए। एफएले सोमबार संस्कृति, सञ्चार र खेलकुद विभाग (डिसिएमएस)लाई जानकारी गराइसकेको र उक्त अनैतिक क्रियाकलाप देखाउनेलाई कारबाही गर्न अपिल गरेको जनाएको छ। 

खेल भावनाविपरीत र खेलको मर्यादामा नै चोट पुर्‍याउने गतिविधि देखिएको भन्दै अनुसन्धान गरेर आवश्यक कारबाही अगाडि बढाउन पनि डिसिएमएसलाई एफएले आग्रह गरेको हो।  ‘रंगशालाभन्दा बाहिर र भित्र भएका गतिविधिले हामी निकै संवेदनशील भएका छौं। केही उच्छृङ्खल गतिविधि भएकोमा हामी दुखी पनि छौं,’ एफएले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘खेलभावनाविपरीतका अप्रिय गतिविधिबारे हामीले डिसिएमसीलाई जानकारी गराइसकेका छौं। अनुसन्धान गरी अवाश्यक कारबाही अगाडि थाल्न अपिल पनि गरेका छौं।’

यस्तै एफएले यस्ता रंगशालामा देखिएका अनैतिक गतिविधिले गर्दा एफएमा थुप्रै प्रश्न उठेको भन्दै आउँदा दिनमा यस्ता गतिविधिमा सतर्क हुन पाठ सिकाएको जनाएको छ। ‘अकल्पनीय दृश्य रंगशालामा देखिनुले आउँदा दिनमा ठूलो पाठ सिकाएको छ,’ एफले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘अनुसन्धानका लागि हामीले सम्बद्ध निकायसँग मिलेर छानबिनको प्रक्रिया थालिसकेका छौं र पहिचान भएपछि उनीहरूको अकाउन्ट रोक्नेछौं।’

सिसिटिभीको आधारमा त्यहाँको पुलिस प्रशासनले अराजक गतविधि देखाउनेहरूका केही तस्बिर सार्वजनिक पनि गरेको छ। फाइनल खेलमा  इङ्ल्यान्डले भ्रमणकारी टोली इटालीसँग निर्धारित र अतिरिक्त समयसम्म १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट लिइएको निर्णयमा इङ्ल्यान्ड पराजित भएको थियो।

 ५५ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा  इङ्ल्यान्ड घरेलु मैदानमा स्तब्ध भएको थियो। पेनाल्टी सुटआउटमा मार्कुस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टी अवसर गुमाउँदा समर्थकबाट उनीहरू सामाजिक सन्जालमा आलोचित भएका थिए।

 सामाजिक सन्जालमा उनीहरूविरुद्ध केहीले रंगभेदी आलोचना पनि गरेका थिए। जसलाई एफएले कडा रूपमा खण्डन गरेको थियो। फाइनलको दिन देखिएको अप्रिय घटनापछि २०३० को विश्वकप आयोजनाको दाबी गरेको इङ्ल्यान्डमाथि ठूलो प्रश्न उब्जिएको छ। २०३० को विश्वकप इङ्ल्यान्ड र आयरल्यान्ड संयुक्त रूपमा आयोजना गर्ने योजनामा छन्।  

प्रकाशित: ५ श्रावण २०७८ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App