coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एकलव्य प्रशिक्षणबाट पदक सपना

पछिल्लो ४ वर्षमा सिरियाका खेलाडीले बिरलै मात्र प्रशिक्षणको अवसर पाए। त्यसैले उनीहरू टोकियो ओलम्पिक २०२० मा पदक जित्ने आशाबाट धेरै पर छन्। तर गृहयुद्धको चपेटामा परेको सिरिया टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदकसहित सो चोटमा मलम  लगाउन चाहन्छ।  

सिरिया पछिल्लो एक दशकदेखि लगातार गृहयुद्धसँग जुधिरहेको छ। त्यसमाथि कोभिड–१९ महामारीका कारण पनि खेलाडीले ओलम्पिक लक्षित तयारीमा जुट्न पाएका छैनन्। उनीहरू उल्लेख्य स्रोतसाधन प्राप्त गर्न सकेका छैनन् र सिरिया सरकारको प्राथमिकता पनि ओलम्पिक लक्षित तयारीमा परेन।

सन् २०१९ को रियो ओलम्पिकमा साताैँ स्थानमा रहेका जिम्न्यास्टिकका माजिद इडिन गाजलले एक वर्ष मात्र सिरियाकै इमाद सर्राजबाट प्रशिक्षण लिए। सन् २०१७ मा सर्राज ओमानी राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै गाजलले बिनाप्रशिक्षण आफैँ अभ्यासलाई निरन्तरता दिइरहे।

‘पछिल्लो ४ वर्ष हामीले स्रोत र साधनबिनै अभ्यास जारी राख्याैँ। हामीलाई आशा थियो, कुनै दिन त हाम्रो तयारी सरकारको प्राथमिकतामा पर्छ भन्ने तर हाम्रा धेरै प्रयास विफल भए। हामी यी समस्याको समाधान खोज्न असफल भयौं,’ गाजलले भने, ‘मजस्तै धेरै खेलाडीले प्रशिक्षकबिनै आफ्नो सीमित स्रोत र साधनको प्रयोग गर्दै आफैँ अभ्यास गरिरहे। हामी चाहन्छाैँ सर्राज टोकियो ओलम्पिकमा सिरियाको टोलीमा फर्किऊन्।’  

गहाजलले ओमानमै गएर सराजसँग केही महिना अभ्याससमेत गरे। तर कोभिड १९ महामारीका कारण उनी बीचमै सिरिया फर्कन बाध्य भए। गाजलले सन् २०१९ यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छैनन्।

‘कोभिड १९ महामारीका कारण अभ्यास योजना पनि अलपत्र पर्‍यो,’ उनले भने, ‘रियो ओलम्पिकमा मेरो तयारी राम्रो थियो।’ यद्यपि गहाजलले प्रशिक्षकबिनाको प्रशिक्षणमा पनि पदक सपना भने त्याग्न नसकेको बताए।

‘मैले निरन्तर अभ्यास गरिरहेको छु। म पदकका लागि आशावादी छु। हाम्रो स्वर्ण सपना कठिन छ तर असम्भव भने छैन,’ उनले भने, ‘टोकियो ओलम्पिक मेरो चौथो ओलम्पिक सहभागिता हो।’

सिरियाले हालसम्म ओलम्पिकमा तीनवटा मात्र पदक जितेको छ। सिरियाले पछिल्लो पटक सन् २००४ को एथेन्स ओलम्पिकमा पदक जितेको थियो। यता सिरिया ओलम्पिक कमिटीका प्रमुख फैरस मुहाल्ला भने आफ्ना ६ खेलाडीको तयारी राम्रो भएको दाबी गरे।

सिरियाबाट यस पटक ओलम्पिकमा गाजलसहित भरोत्तोलनका मान असाद, सो जम्पर अहमेद हाम्सो, पौडीतर्फ अहमान काल्जेही, ट्राएथलेट मोहम्मद मासो र १२ वर्षीया टेबल टेनिसकी हिन्द जाजा सहभागी हुँदै छन्। जाजा सिरियाली टोलीकी एक मात्र महिला खेलाडी हुन्।

प्रकाशित: ४ श्रावण २०७८ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App