२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोलम्बिया तेस्रो स्थानमा

लुइज डियाजको दुई गोल प्रेरणाबाट कोलम्बियाले शनिबार पेरूमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै यस सिजनको कोपा अमेरिकामा तेस्रो स्थान हात पारेको छ। ब्राजिलियास्थित माने गारिन्चा स्टेडियममा भएको खेलमा अग्रता लिएको पेरूले इन्जुरी समयमा समालिन नसक्दा तेस्रो स्थान गुमाउनुपरेको हो। 

चार मिनेटको इन्जुरी सयममा डियाजको सशक्त प्रहार गोलमा परिणत भएपछि पेरू स्तब्ध हुन पुग्यो। त्यसअघि खेलको २८औं मिनेटमा पेरूले योसिमर योटुनको गोलबाट अग्रता लिएको थियो। क्रिस्टियन क्युबाको पास सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रबाट कोलम्बियन गोलकिपर क्यामिलो भर्गासको माथिबाट चिफ सट प्रहार गर्दै गोल गरेका थिए। त्यो गोलले नै पेरूले पहिलो हाफसम्म अग्रता बनायो। तर, कोलम्बिया ४९औं मिनेटमा खेलमा फर्कियो।  

कप्तान जुआन क्वाड्राडोले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको फ्रिकिक पेरूका मानव पर्खाललाई छिचोल्दै गोलमा परिणत हुन पुग्यो। कोलम्बिया ६६औं मिनेटमा अर्को गोल गर्दै खेलमा पहिलो पटक अग्रता लिन सफल भयो। गोलकिपर भर्गासले दिएको लामो पास नियन्त्रण गर्दै डियाजले विपक्षी डिफेन्डरहरूलाई समेत छक्याउँदै गोल गरेका थिए। कर्नर च्याप्दै उनले गरेको लामो प्रहार पेरूका गोलकिपर पेड्रो गालेसेले भेट्टाउनै सकेनन्। 

तथापि, खेलको ८२औं मिनेटमा पेरूले गोल फर्कायो। कर्नर बललाई स्ट्राइकर जियानलुका लापाडुलाले हेडमार्फत जाली चुमाउँदै पेरूलाई खेलमा जीवितै राखे। तर, इन्जुरी समयमा खेलले रोमाञ्चक मोड लियो। इन्जुरी समयमा कोलम्बियाका डियाजले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल पेरूका गोलकिपर गालेसेको हातमा छुँदै गोलमा परिणत हुँदा पेरू अन्तिम समयमा स्तब्ध हुन पुग्यो। 

प्रकाशित: २७ असार २०७८ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App