२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा

डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै बुधबार युरो कप २०२० को फाइनलमा स्थान बनाएको इङ्ल्यान्ड ५५ वर्षपछि पहिले पटक मुख्य प्रतियोगिताको उपाधिनजिक पुगेको छ।  

६५ हजार दर्शकको साथ पाएको  इङ्ल्यान्डले वेम्बलीमा डेनमार्कले लिएको सुरुआती अग्रतालाई उल्टाउँदै पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो। सन् १९६६ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको इङ्ल्यान्डले त्यसयता कुनै पनि मुख्य प्रतियोगिताको उपाधि उचाल्न सकेको छैन। ३०औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए। तर डेनमार्कको अग्रता ९ मिनेटपछि नै तोडियो। ३९औं मिनेटमा सिमोन कजरले आत्मघाती गोल गरेपछि इङ्ल्यान्ड बराबरीको अवस्थामा पुगेको थियो।

त्यसपछिको निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयतिर धकेलिएको थियो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको १ सय ४औं मिनेटमा रहिम स्टर्लिङलाई योहकिम महेलले पेनाल्टी बक्सभित्र फाउल गरेपछि इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। भिडियो सहायक रेफ्री (भिएआर)को सहायताबाट रेफ्रीले इङ्ल्यान्डलाई पेनाल्टीको अवसर दिएका थिए। ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर स्माइकलले रोकेपछि रिबाउन्डमा आएको बलमा केनले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।  

इङ्ल्यान्डले अब फाइनलमा आइतबार इटालीको सामना गर्नेछ। इटालीले यसअघिको पहिलो सेमिफाइनल खेलमा स्पेनलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो। उता अतिरिक्त समयमा स्तब्ध भएको डेनमार्कको युरो कप २०२० यात्रामा भने पूर्णविराम लागेको छ। ‘उपाधि अब धेरै टाढा छैन। एक खेलमा सफलता हात पारे हामी च्याम्पियन बन्नेछौँ, ’निर्णायक गोल गरेका कप्तान केनले भने, ‘पछि परे पनि सम्हालिएको प्रदर्शन गर्दै परिपक्व खेल देखाउन सक्यौैं। पहिलो पटक हामी युरोपियन च्याम्पियनसिपको उपाधिनजिक पुगेका छौं। मेरा लागि जीवनकै सबैभन्दा खुसीको क्षण हो।’

समूहचरणको खेलअन्तर्गत फिनल्यान्डसँगको खेलमा क्रिस्टियन इरिक्सन आकस्मिक हृदयाघातका कारण मैदानमै ढलेपछि सहानूभूति पाएको डेनमार्कले खेल अवधिभर पाएका केही राम्रा अवसरलाई गुमाएको थियो। इरिक्सनको स्वास्थ्य अवस्थापछि सहानुभूति पाएको कास्पर हिजुलम्यान्डको टोली डेनमार्कले क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले हराएको थियो भने अन्तिम १६ मा वेल्सको चुनौतीलाई ४–० ले पन्छाएको थियो। पहिलो पटक विभिन्न ११ देशमा आयोजना गरिएको युरो कपमा सबैभन्दा फाइदा इङ्ल्यान्डलाई मिल्यो।

इङ्ल्यान्डले घरेलु मैदानको फाइदा उठाउन सफल भयो। इङ्ल्यान्डलाई ७ मध्ये ६ खेल घरेलु रंगशालामा खेल्ने अवसर मिलेको हो। डेनमार्कका प्रशिक्षक कास्परले विजयी गोल गर्न चुक्दा प्रतियोगिताबाट बाहिरिनु आफ्ना लागि असह्य भएको अनुभव सुनाए। ‘पहिलो कुरा त हामीले खेल गुमायौं। अकल्पनीय तरिकाले पराजित हुनुपर्दा निकै निराशा छाएको छ। खेलाडी अन्तिम मिनेटसम्म लड्दा पनि सफल हुन सकेनन्,’ डेनमार्कका प्रशिक्षक कास्परले भने, ‘यो क्षणलाई बयान गर्नुभन्दा पनि पचाउन निकै कठिन भएको छ। राम्रो खेल्दाखेल्दै पनि प्रतियोगिताबाट बाहिरिनु निकै पिडादायी भएको छ।’

लामो प्रतीक्षापछि इङ्ल्यान्ड उपाधिनजिक पुगेको भन्दै प्रशिक्षक ग्यारेथ साउथगेटले उपाधि उचाल्नेमा आपूm विश्वस्त भएको प्रतिक्रिया जनाए। ‘लामो प्रतीक्षापछि हामी उपाधिनजिक पुगेका छौं। सेमिफाइनल खेलसम्म केही खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव पनि थिएन। सेमिफाइनलमा उनीहरूले अनुभव लिएका छन् र राम्रो प्रदर्शन पनि गरे,’ इङ्ल्यान्ड प्रशिक्षक साउथगेटले भने, ‘लक्ष्यमा पुग्न हामी अब धेरै टाढा छैनौं। एक चुनौतीको सामना गर्दै सुखद नतिजा निकाल्दा लक्ष्य पूरा हुनेछ। उपाधिका लागि प्रतिस्पर्धा गर्दा हामीलाई घरेलु दर्शकको साथ मिल्नेछ।’

प्रकाशित: २५ असार २०७८ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App