थोर्गन हाजार्डको निर्णायक गोलमा साबिक विजेता पोर्चुगललाई स्तब्ध बनाउँदै बेल्जियम आइतबार युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गर्दा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्समाथि २–० को जित निकालेको छ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीको पोर्चुगल र उनका सहकर्मीले उपाधिरक्षा गर्ने लक्ष्यमाथि आइतबार ठेस लागेको हो। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक बन्दा पोर्चुगल क्वार्टरफाइनलअगावै बाहिरियो। समूहचरणको खेलमा उत्कृष्ट तेस्रो टोलीको रूपमा प्रवेश पाएको पोर्चुगलले खेलअवधिभर राम्रो खेले पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न चुकेको थियो।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले पोर्चुगलविरुद्ध पूरै सन्तुलित खेल देखाउन सफल भएको थियो। गोल्डेन जेनेरेसनका रूपमा व्याख्या गरिएको बेल्जियमले गोल गरेपछि पूरै समय रोनाल्डोको टोलीलाई दबाबमा राखेको थियो। जित निकालेको बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। अतिरिक्त समयमा अस्ट्रियामाथि २–१ को जित निकाल्दै इटाली अन्तिम ८ मा प्रवेश गरेको थियो। यी दुई टोलीको भेट आगामी शुक्रबार हुनेछ।
‘मैले भाग्य जाँच गरेको थिएँ,’ बोरुसिया डर्टमन्डका विंगर थोर्गन हाजार्डले भने, ‘सहज भने थिएन। तर प्रतियोगिता चलिरहँदा यस्ता प्रयासमा कहिलेकाहीं सफल हुन्छन्।’ अन्तिम आठमा स्थान बनाएको बेल्जियमका मुख्य खेलाडी केभिन डी ब्रुएना र इडेन हाजार्डको चोट बेल्जियमलाई टाउको दुखाइ भएको छ। चोट बोकेपछि ब्रुएनाले दोस्रो हाफमा मैदान छाडेका थिए। खुट्टामा चोट बोक्दै उनी बिस्तारै मैदानबाट बाहिरिएका थिए।
यस्तै अर्का खेलाडी इडेन हाजार्डलाई समेत चोट देखिएको छ। ह्यामस्ट्रिङका कारण उनले खेलाडी परिवर्तनको आह्वान गरेका थिए। बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले चोटको गहिराइबारे थाहा पाउन समय लाग्ने बताए। ‘हाजार्ड र बु्रएनाको चोटका बारेमा आकलन गर्न ४८ घण्टा लाग्छ। बेल्जियममा गएर दुवै खेलाडीको चोटलाई हेर्नेछौं,’ प्रशिक्षक मार्टिनेजले भने, ‘केभिनलाई घुँडामा समस्या छ।
दोस्रो हाफमा उनी चल्न सकेनन्, हाजार्डको मांसपेशीमा समस्या छ। तर हामी थप परीक्षणको प्रतिक्षा गरिरहेका छौं ।’ युरो कप सुरु हुनुअघि दुवै खेलाडी घाइते थिए। तर प्रतियोगितामा दुवै खेलाडी निको हुँदै मैदान फर्किए पनि आगामी दिनमा भने बेल्जियमलाई समस्या हुने देखिएको छ। यी दुई खेलाडीको सहयोगमा बेल्जियम समूहविजेता हुँदै नकआउट चरण पुगेको थियो।
३६ वर्षे रोनाल्डोको टोलीको यात्रा जारी युरो कपमा समाप्त भएसँगै खेलाडीमा निराशापन छाएको र सबै खेलाडीको आँखा आँसुले भरिएको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सन्तोसले बताए। युरो कपअन्तर्गत शनिबार नेदरल्यान्ड्स चेक रिपब्लिकसँग स्तब्ध हुँदै युरो कपबाट बाहिरिएको छ। पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरे। जारी युरो कपमा सिकको यो चौथो गोल हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुआतमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो। खेलको ५५औं मिनेटमा नेदरल्यान्ड्सका म्याथिस डी लिग्ट रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए।
बक्सबाहिर हातले बल रोकेपछि रेफ्रीले भिएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका हुन्। भिएआरअघि उनलाई पहेंलो कार्ड मात्र दिइएको थियो। नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाइदा उठाउँदै अघिल्लो चरणमा स्थान बनाएको हो। अब चेक रिपब्लिकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। डेनमार्कले यसअघि भएको प्री क्वार्टरफाइनलमा वेल्समाथि ४–० को फराकिलो जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको थियो।
प्रकाशित: १५ असार २०७८ ०२:४० मंगलबार