२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरो २०२०: इटाली क्वार्टरफाइनलमा

अतिरिक्त समयमा अस्ट्रियाविरुद्ध शनिबार २–१ को जित निकाल्दै इटालीले युरो कप २०२० को क्वार्टरफाइनलमा स्थान बनाएको छ। वेम्बलीमा भएको खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयतिर धकेलिएको खेलमा इटालीले अस्ट्रियालाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको हो। निकै रोमाञ्चक भएको खेलमा इटाली सुरुआतबाट नै दबाब दिए पनि निर्धारित सयममा गोल निकाल्न असफल भएको थियो।  

शनिबारको जितसँगै इटालीले पछिल्ला ३१ खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। पहिलो हाफ गोलरहित बराबरी खेलेको अस्ट्रियाले दोस्रो हाफमा आक्रामक खेल देखाउँदै अन्तिम आठमा पुग्ने रणनीति बनाएको थियो। सोही क्रममा ६५औं मिनेटमा अस्ट्रियाका मार्को अर्नाटोभिचले गरेको हेडर बल गोलमा परिणत पनि भएको थियो। तर उक्त गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले मान्यता नदिएपछि अस्ट्रिया निराश भएको थियो। 

अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइडको संकेत दिइएको थियो। त्यसपछि दुवै टोलीलै बारम्बार प्रयास गरे पनि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयतिर धकेलिएको थियो। अतिरिक्त समयतिर पुगेको खेलमा इटाली जित निकाल्ने लक्ष्य लिएर आक्रामक रूपमा प्रस्तुत भयो। ९५औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले इटालीका लागि खाता खोले। युभेन्ट्सका फरवार्ड किएजाले स्पिनाजोलाले उपलब्ध गराएको पासलाई नियन्त्रण गर्दै जाली चुमाउन सफल भए। 

त्यसको १० मिनेटपछि म्याटियो पेस्सिनाले पेनाल्टी क्षेत्रभित्र अस्ट्रियाका रक्षकले क्लियर गर्न नसकेको बललाई नियन्त्रण गर्दै गोलको दिशा दिँदा इटालीको पक्षमा २–० को अग्रता मिलेको थियो। पछि परेको अस्ट्रिया त्यसपछि आक्रामक रणनीति बुन्न थाल्यो। अर्कोतर्फ इटाली पनि थप गोल गर्न अगाडि बढिरहेको थियो। इटालीका केही राम्रा प्रहार अस्ट्रियाका गोलकिपर ड्यानियल बचम्यानले उत्कृष्ट बचाउ गरेर विफल पारेका थिए।

पछि परेसँगै खेलमा फर्किन संघर्ष गरेको अस्ट्रियाले ५ मिनेट समय बाँकी रहँदा गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो। सासा कालाज्डिचले गोल गर्दै इटालीलाई दबाब दिएर खेलमा फर्किन प्रयास गरे। बाँकी समय अस्ट्रियाका लागि पर्याप्त भएन र इटालीले बाजी मार्न सफल भयो। जित निकाले पनि इटालीले लगातार ११ खेलमा गोल नखाएको इतिहासमा पूर्णविराम लागेको छ। यद्यपि अपराजित यात्रा भने ३१ खेलसम्म पुगेको छ। विजयी इटालीले अब क्वार्टरफाइनलमा अन्तिम चार प्रवेश गर्न चौथो प्री क्वार्टरफाइनल खेलको विजेतासँग खेल्नेछ।  

२०१८ को विश्वकपमा छनोट हुन नसकेको इटालीका प्रशिक्षक रोबर्टो मानचिनीले आफ्नो टोली जितको हकदार भएको प्रतिक्रिया जनाए। ‘पहिलो हाफमा दुईओटा स्कोर गर्ने अवसर गुमाउन पुग्यौं। ब्रेकपछि हामी शारीरिक हिसाबमा दबाबमा पर्‍यौं,’ इटालीका प्रशिक्षक रोबर्टो मानचिनीले भने, ‘हामीले जित निकाल्न सफल भयौं। बराबरीको अवस्थालाई तोड्दै खेलाडीले जित निकाल्न सफल भए। निकै कठिन थियो। आउँदो चरण अझै कठिन हुनेछ। तयारी अझै आवश्यक देखियो।’

समूह ‘सी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको अस्ट्रिया पराजित भएसँगै अघिल्लो चरणको यात्रा समाप्त भएको छ। प्री क्वार्टरफाइनलअन्तर्गत यसअघि भएको खेलमा डेनमार्कले वेल्समाथि ४–० को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो। डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक÷एक गोल आफ्नो नाममा लेखाए। 

प्रकाशित: १४ असार २०७८ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App