८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पिटर्सबर्गमा महामारी उच्च बिन्दुमा: संकटमा क्वार्टरफाइनल

युरो कप २०२० को आयोजना गरेको सेन्ट पिटर्सबर्गमा शनिबार कोभिड–१९ महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको तथ्यांकले देखाएको छ। सेन्ट पिटर्सबर्गमा युरो कप २०२० को ६ खेल सञ्चालन भइसकेका छन् भने आगामी शुक्रबार क्वार्टरफाइनल खेल पनि सञ्चालन हुँदै छ। 

तर, पिटर्सबर्गमा पछिल्लो २४ घन्टामा नै कोरोनाका कारण १ सय ७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। रसियन समाचार एजेन्सीका अनुसार त्यो तथ्यांक महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो। बेल्जियमसँगको खेलमा आफ्नो टोली फिनल्यान्डको हौसला बढाउन पिटर्सबर्ग आएका दर्जनौं दर्शकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। भारतबाट उत्पन्न भएको डेल्टा भाइरस रसियामा गत जुनको मध्यमा नै देखिएको थियो, जुन अत्यधिक रूपमा पैmलिने आशंका गरिएको छ।  

शनिबार रसियामा २१ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण देखिएको थियो, त्यो तथ्यांक जनवरीयताकै सबैभन्दा धेरै हो। मस्कोमा पनि पछिल्ला समय अपत्यारिलो रूपमा संक्रमण बढिरहेको अधिकारीको भनाइ छ। मस्कोले तीव्र रूपमा भ्याक्सिन पनि बढाइरहे पनि संक्रमण भने नाटकीय रूपमा बढिरहेको छ। ‘यदि महामारीलाई रोक्नु छ भने भ्याक्सिनेसनलाई अझै तीव्रता दिनुपर्दछ। अन्य उपाय नै हामीसँग छैन,’ मस्कोका मेयर सेर्जेई सोबिनिनले भने, ‘यो समस्यालाई मूल रूपमा समाधान गर्नु छ भने भ्याक्सिनेसनलाई अझै बढाउनु या लकडाउन गर्नुको अर्को विकल्प नै हुने छैन।’

रसियाभरि भने शनिबार ६ सय १२ जनाको मृत्यु भएको छ, जुन डिसेम्बरयताकै सबैभन्दा धेरै हो। रसियामा महामारी सुरु भएपछि एक लाख ३२ हजार ६ सय ८३ व्यक्तिको मृत्यु भइसकेको छ। अधिकारीहरूका अनुसार रसिया महामारीका कारण युरोपकै जटिल अवस्थामा पुगेको छ। एक तथ्यांकका अनुसार रसियामा महामारी सुरु भएपछि कम्तीमा दुई लाख ७० हजार मानिसको मृत्यु भइसकेको छ। 

गोगोभ नामक वेबसाइटका अनुसार एक सय ४६ मिलियन जनसंख्या भएको रसियामा शुक्रबारसम्म २१.२ मिलियनलाई मात्र कम्तीमा एक डोज भ्याक्सिन दिइएको छ। सेन्ट पिटर्सबर्गस्थित पिटर्सबर्ग स्टेडियमा युरो कपको क्वार्टरफाइनल खेल आगामी जुलाई २ अर्थात् आगामी शुक्रबार हुँदै छ। फ्रान्स र स्विट्जरल्यान्ड तथा क्रोएसिया र स्पेनबीचका विजेताबीच पिटर्सबर्गमा क्वार्टरफाइनल खेल हुनेछ। यद्यपि, यसै हप्ता महामारी तीव्र रूपमा बढेमा क्वार्टरफाइनल खेल प्रभावित हुन सक्ने आशंका गरिएको छ। पछिल्लो खेलमा बेल्जियम र फिनल्यान्डबीचको भिडन्तमा १८ हजार दर्शकलाई उक्त खेलमा प्रवेश दिइएको थियो। तर, महामारी अत्यधिक बढेमा दर्शकमाथि प्रतिबन्ध पनि लाग्न सक्नेछ।

प्रकाशित: १३ असार २०७८ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App