८ वैशाख २०८१ शनिबार
खेल

महिला भलिबलले तयारी थाल्यो

आगामी अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली महिला राष्ट्रिय टोलीले मंगलबारबाट अभ्यास गरेको छ। प्रमुख प्रशिक्षक जगदीश भट्टको तीन सदस्यीय टोलीले छानेका ३० खेलाडीमध्ये मंगलबार २५ खेलाडी अभ्यासमा सहभागी भए। प्रमुख प्रशिक्षक भट्टबिना नै टोलीले अभ्यास थालेको हो। पहिलो दिन टोलीलाई प्रशिक्षक कुमार राई र अन्जु श्रेष्ठले खेलाडीलाई वार्मअप गर्दै अभ्यसाको थालनी गरेका हुन्।  

कोरोना महामारीका कारण समयमा हुन नसकेको महिला भलिबलको प्रशिक्षण ढिलै भए पनि सञ्चालन हुँदा खेलाडी कोर्टमा दंग थिए। अभ्यास थालनी गरेको टोली कोरोनाको कारण फुर्सदिलो बन्दा खेलाडीमा फिटनेसको पनि चिन्ता थपिएको थियो। त्यसका लागि पहिलो पटक फिजियोको जिम्मा उज्ज्वल डोटेललाई दिइएको छ। त्यसो त नेपालले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्दै छ, खेलाडीमा उत्साह छ। पहिलो एसियन च्याम्पियनसिप सहभागिता अवसर भएको नेपाली टोलीकी कप्तान अरूणा शाहीले बताइन्।  

‘केही समय फुर्सदिलो भए पनि हामीले अभ्यास थालेका छौं। एसियन च्याम्पियनसिप हाम्रा लागि अवसर हो। राम्रो गर्नुपर्छ,’ पश्चिमाञ्चल क्षेत्रबाट भलिबल खेल्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेको कप्तान अरूणाले भनिन्, ‘प्रारम्भिक टोलीमा धेरै नयाँ अनुहार छन्। उनीहरूको राम्रो उचाइ रहेको छ। अन्तिम टोली बन्दा हाम्रो टोली मजबुत हुन्छ।’

एसियन च्याम्पियनसिपमा पहिलो पटक सहभागी हुन लागेको नेपाललाई महामारीले समयमा तयारी गर्न अवरोध गर्‍यो। समयमा नै अभ्यास थाल्न नपाउँदा नेपाली टोली झन्डै निराश भएको थियो। नजिकिँदै गरेको प्रतियोगितालाई तयारी थालेको नेपालले एसियन च्याम्पियनसिपमा देशका नामका लागि खेल्ने बताइन्।  

‘साउथ एसियन गेमपछि हामी करिब एक वर्ष अभ्यासविहीन भयौं, अन्तिम समय हामीले १÷२ ओटा प्रतियोगिता खेल्यौं। सो खेलमा हामीलाई केही कठिन भयो,’ कप्तान अरूणाले थपिन्, ‘मेडलका लागि प्रतिस्पर्धा गर्नुभन्दा पनि हामी पहिलो पटक खेल्दै छांै, खेलमा हामीले नेपाल पनि छ भन्ने सन्देश दिन चाहन्छौं। हामीभन्दा बलिया टिम छन्। केही अनुभव बटुल्ने म्यान खेल्न पाए हामीलाई अनुभव हुने थियो।’

अन्य देश अन्तर्राष्ट्रिय सहभागिता जनाउने खेललाई प्राथमिकता दिएर बन्द प्रशिक्षण गरिरहेका छन्। तर नेपालमा प्रतियोगिता आउन केही समय मात्र बाँकी रहेका अवस्थामा थालनी गर्न निकै पापड पेल्नुपरेको छ। कोरोना महामारीले समुदाय थलिएसँगै खेलक्षेत्र थालनी गर्न दोस्रो सोचाइको विषय भयो। साथै उचित समन्वयको अभाव पनि यो बीचमा रह्यो। 

बल्लतल्ल अभ्यास थालेको टोलीले यसअघि जेठ २१ गतेबाट तयारी गर्ने तालिका थियो। दोस्रो लहरको कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिँदा तालिकामा अभ्यास सुचारु हुन सकेन। चोटलाई जितेर कोर्टमा फर्किएकी नेपाली टोलीकी स्पाइकर प्रतिभा मालीले नेपालका लागि एसियन च्याम्पियनसिप ठूलो अवसर भएको भन्दै प्रतियोगिताका लागि आफू तयार भएको प्रतिक्रिया दिइन्।

‘चोटपछि पुरानै अवस्थामा नभए पनि यो प्रतियोगिताका तयार भएको छु, मलाई चोट छ भन्ने सोचेकै छैन। पुरानै खेललाई निरन्तरता दिन सक्छु, पछिल्लो पटक भएको प्रतियोगिताको सफलताले मलाई मनोबल मिलेको छ,’ स्पाइकर प्रतिभा मालीले भनिन्, ‘अहिले टिम राम्रो छ। बाहिर गएर तयारी गर्ने सुनेको छु। पहिलो अवसर हो राम्रो गर्नेमा म आशावादी छु। म्याच एक्सपोजर यहाँकाले मात्रै हँुदैन। अन्य स्थानमा पनि भयो भने टोलीलाई अनुभव हुने थियो।’  

नेपाल भलिबल संघले प्रशिक्षण हुने स्थल राखेप कभर्डहल सफा र हललाई डिसइन्फेक्सन गर्ने काम, खेलाडी, प्रशिक्षक तथा अफिसियलको पिसिआर परीक्षण गर्ने काम गर्दै टोलीलाई मंगलबार कभर्ड हलमा फर्काएको हो। पहिलो दिन अभ्यासमा २५ खेलाडी उपस्थित भए। उनीहरूको यसअघि पिसिआर परीक्षण गरिएको थियो। सबैको नेगेटिभ रिपोर्ट आएको थियो। 

३० मध्येका तीन नेपाल पुलिसका खेलाडी आन्तरिक प्रशिक्षणमा रहेको भन्दै उपस्थित थिएनन्। उनीहरूलाई फर्काउनका लागि पत्र पठाइएको संघले जानकारी दिएको छ। यस्तै महेन्द्रनगरकी सरस्वती कट्टेल र हीरा केसी सामेल हुन बाँकी छ। प्रतियोगिताका लागि भन्दै गत चैत महिनामा सम्पन्न भएको पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रदर्शनलाई आधार मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय छनोट समितिले ३० सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो। 

प्रकाशित: २ असार २०७८ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App