पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यकोे निधन भएको छ । पोखरा रानीपौवाका कर्माचार्यको ६५ वर्षको उमेरमा उपचारको क्रममा विहीबार बिहान काठमाडौंमा निधन भएको हो । उनी २०५९ देखि २०६१ सालको अवधिका लागि संघका अध्यक्ष थिए ।
पोखरा उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले कर्माचार्यको निधनबाट संघलाई अपूरणीय क्षति भएको विज्ञप्तीमार्फत जनाएका छ्न । कर्माचार्य हक्किा राष्ट्रिय खेलाडी पनि हुन् । पोखराको खेलकुद क्षेत्रले फेरि एकजना राष्ट्रिय खेलाडी गुमाएको बताएको छ । केही दिनअघि मात्रै फुटबलका प्रशिक्षक विल तामाङलाई गुमाएको पोखराको खेलकुद क्षेत्रले बिहीबार कर्माचार्यलाई गुमाएको छ ।
कर्माचार्यको निधनले पोखराको व्यवसायिक तथा खेल क्षेत्रले दुख प्रकट गरेको छ । व्यवसायिक क्षेत्रबाहेक खेलमा आवद्ध रहेका उनले २०४४ सालमा हेटौडामा आयोजित दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी अञ्चल उपविजेता बनेको थियो । उपविजेता बनेको गण्डकी अञ्चलको हक्की टोलीमा कर्माचार्य महत्वपूर्ण खेलाडी थिए । उनले हक्की खेललाई लामो समय दिन सकेनन् ।
कमाचार्यले २०३९ सालदेखि हक्की खेल्न शुरु गरेको सहकर्मीहरु बताउँछन् । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामा आयोजना हुँदा कमाचार्यले गण्डकी अञ्चलबाट डेब्यु गरेका थिए । अञ्चलबाटसँगै खेलेका पूर्व राष्ट्रिय खेलाडी बसन्त प्रधानले अनुसार विभिन्न राष्ट्रिय हक्की प्रतियोगितामा सँगै खेलिएको स्मरण गर्दै कास्कीको हक्कीमा अपुरणीय क्षति पुगेको बताए ।
पोखरामा २०३८ सालकै आसपासबाट हक्की खेलको शुरुवात भएको हो । डा. विरेन्द्रसिह गुरुङ, रन्जित गुरुङ लगायतको सक्रियतामा पृथ्वीनारायण क्याम्पसस्थित अन्नपूर्ण रंगशालामा हक्की मैदान बनाईएको थियो । त्यही मैदानबाट खेल्न शुरु गरेका कमाचार्यले आधा दर्जन राष्ट्रिय प्रतियोगिता खेलेको प्रधानको भनाई थियो ।
पोखरामै आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पृथ्वीनारायण क्याम्पसस्थित हक्की मैदानमा आयोजना गरिएको थियो । त्यतिबेला गण्डकी अञ्चलले पदक भने जित्न सकेको थिएन् । २०४२ सालमा वीरंगजमा आयोजित तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी अञ्चलले दोस्रो स्थान हासिल गरेको थियो । त्यतिबेला कर्माचार्य समेत अञ्चलको महत्वपूर्ण खेलाडीको रुपमा रहेका थिए ।
त्यसपछि २०४५ सालताका रुपन्देहीमा नेपाल प्रहरीले आयोजना गरेको राष्ट्रिय हक्की प्रतियोगिता, पूर्वाञ्चलको धरानमा आयोजित हक्की राष्ट्रिय प्रतियोगितामा समेत कर्माचार्यसँगै अञ्चलको टोलीमा रहेको सहकर्मी प्रधानले सुनाए । उनका अनुसार कर्माचार्य शालीन, भद्र र अनुशासित खेलाडीको छवि थियो ।
प्रकाशित: १३ जेष्ठ २०७८ ०९:२३ बिहीबार