२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पोर्टाेले टार्‍यो युइएफएको संकट

गत सिजन लिस्बनपछि यस पटक पोर्टो। पुनः एक पटक पोर्चुगलले च्याम्पियन्स लिगको फाइनल आयोजना गर्ने प्रस्तावसँगै युइएफएको संकट टारिदिएको छ। लगातार दोस्रो सिजन कोभिड १९ को माहामारीका कारण युइएफए इस्तानबुलमा हुने फाइनल खेल सार्न बाध्य भएको थियो। 

कोभिड–१९ संक्रमितको संख्या घट्दै समान्य जनजीवनमा फर्किएसँगै पोर्चुगलले पुनः एक पटक युरोपियन क्लब फुटबलकै प्रतिष्ठित प्रतियोगिताको फाइनल आयोजना गर्न लागेको हो। यसले पोर्चुगलको ठूला प्रतियोगिताको सफल आयोजन गर्ने क्षमताका साथै छिमेकी फुटबल संघहरूसँग राम्रो सम्बन्धसमेत विकास हुन्छ। युइएफएका लागि म्यानचेस्टर सिटी र चेल्सीबीच हुने च्याम्पियन्स लिग फाइनलका लागि पोर्चुगल मात्र एक विकल्प बनेको हो।

‘फेरि एक पटक हामीलाई पोर्चुगलले सहयोगको हात अघि बढाएको छ। म पोर्चुगल फुटबल संघ (एफपिएफ)प्रति आभारी छु,’ युएइफएका अध्यक्ष एलेक्जेन्डर सेफ्रिनले भने, ‘छोटो समयका बावजुद पनि पोर्चुगल सरकार, एफपिएफले तयारी पूरा गरेका छन्।’ इस्तानबुल भने फेरि एक पटक अभागी रह्यो। सन् २०२० को च्याम्पिन्स लिग फाइनल पनि इस्तानबुलमै तय भएको थियो तर कोभिड १९ महामारीकै कारण प्रतियोगिताको फाइनल खेल निर्धारित मितिभन्दा झन्डै तीन महिनापछि अगस्टमा लिस्बनमा सम्पन्न भएको थियो।  

टर्किस अधिकारीहरूले यस सिजनको फाइनल भने कुनै पनि हालतमा इस्तानबुलमै गराउने जनाएका थिए। तर बेलायत सरकारले कोभिड १९ को संक्रमण बढेको भन्दै टर्कीमा आफ्ना नागरिकलाई जान प्रतिबन्ध लगाएसँगै टर्किस अधिकारीको प्रयास यस पटक पनि सफल भएन। युइएफएले यस सिजनको च्याम्पिन्यस लिग फाइनलमा सीमित दर्शकलाई मैदान प्रवेशमा अनुमति दिने जनाइसकेको छ। गत सिजन लिस्बनमा बायर्न म्युनिख र पिएसजीविरुद्धको फाइनल भने बन्द रंगशालामा गराइएको थियो।

फाइनलका लागि दुवै इङ्लिस क्लबका समर्थक जाने हुँदा टर्की भ्रमणमा लगाइएको प्रतिबन्धका कारण पनि युइएफएका लागि पोर्टो सबैभन्दा उत्तम विकल्प बन्न पुग्यो। पोर्चुगल सरकारले इस्टाडियो डो ड्रागोमा हुने फाइनल खेलमा रंगशालाको कुल दर्शक क्षमताको ३३ प्रतिशतलाई मात्र अनुमति दिएको छ। त्यसैले शनिबार चेल्सी र सिटीबीचको फाइनलमा १६ हजार ५ सय दर्शकलाई मात्र मैदानमा प्रवेश पाउनेछन्। त्यसमध्ये १२ हजार  इङ्लिस समर्थक रहने अनुमान गरिएको छ। उनीहरूले पोर्चुगल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्नु गर्ने छ।

पोर्चुगलका परराष्ट्रमन्त्री अगस्टो सान्तोस सिल्भाले आफूहरू कोभिड १९ महामारीको संक्रमण दर नियन्त्रण गर्न सफल भएको दाबी गरे। यता टर्कीका राष्ट्रपति रिसेफ तैयव इड्रोगानले भने च्याम्पियन्स लिगको फाइनल इस्तानबुलबाट पोर्टो सार्ने निर्णय महामारीका कारण नभई त्यसमा राजनीतिक स्वार्थ जोडिएको प्रतिक्रिया दिएका छन्। युइएफएले च्याम्पियन्स लिगको आगामी तीन संस्करणको फाइनल खेल सेन्ट पिट्सबर्गमा आयोजन गर्ने जनाइसकेको छ।  

प्रकाशित: १३ जेष्ठ २०७८ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App