२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘तलब कटौतीले मानसिक तनाव’

बंगलादेशसँग आइतबारदेखि हुने एकदिवसीय क्रिकेट शृंखलाअगाडि बोर्डसँगको पारिश्रमिक विवादले आफ्नो टोलीका खेलाडीको मनोबल घटेको श्रीलंका क्रिकेट टोलीका कप्तान कुशल परेराले बताएका छन्।

श्रीलंका क्रिकेट बोर्डले नयाँ सम्झौताअनुरूप २४ जना राष्ट्रिय खेलाडीको पारिश्रमिकमा ४० प्रतिशत कटौती गरेसँगै खेलाडीले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन्। कप्तान परेराले ५० ओभरको खेल खेल्न बंगलादेश प्रस्थान गर्नुअघि त्यस किसिमको कुनै सम्झौता नभएको उल्लेखसमेत गरेका छन्। ‘तलब कटौतीले हाम्रा खेलाडीलाई मानसिक असर परेको छैन भन्नु झूटो हुनेछ,’ शनिबार अनलाइन पत्रकार सम्मेलनमा श्रीलंका क्रिकेट टोलीका कप्तान परेराले भने, ‘हामीले फर्किएपछि बोर्डसँगको वार्ता सफल हुनेछ भन्ने आशा गरेका छौं।’

बोर्डका नयाँ डाइरेक्टर टोम मुडी र श्रीलंकाका पूर्वकप्तान अरबिन्द डी सिल्भाद्वारा जारी नयाँ तलब संरचनाले खेलाडीमा मानसिक तनाव सिर्जना गरेको समेत परेराले आरोप लगाएका छन्। ‘यसले ममाथि धेरै चुनौती थपिरहेको छ। त्यसैले मैले कसरी हुन्छ राम्रो वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छु, जहाँबाट खेलाडीले निडरतापूर्वक प्रदर्शन गर्न सकून्,’ परेराले भनेका छन्। एक कानुनी व्यवसायीले नयाँ सम्झौता स्वीकार गर्न बोर्डले खेलाडीको कन्चटमा बन्दुक तेस्र्याएको आरोप लगाएका छन्।  

बंगलादेश भ्रमणमा श्रीलंकाली टोलीबाट बाहिरिएका पूर्वकप्तान एन्जेलो म्याथ्युज र टेस्ट कप्तान दिमुथ करुनारत्नेले रकम कटौतीमा धेरै क्षति बेहोर्नुपर्नेछ। यसअघि वार्षिक एक लाख ३० हजार अमेरिकी डलर पाउँदै आएका म्याथ्युजले ८० हजार अमेरिकी डलर पाउने भएका छन्। करुनारत्नको पारिश्रमिक पनि ७० हजारबाट ३० हजार अमेरिकी डलरमा झर्नेछ। ‘खेलाडीहरू अनुचित र गैरपारदर्शी सम्झौता गर्न सहमत छैनन्। उनीहरूले बोर्डसमक्ष कन्चटमा बन्दुक राखेर दबाब नदिन आग्रह गरिरहेका छन्,’ कानुन व्यवसायी निसान प्रेमाथिरत्नेले भने।  

यद्यपि, क्रिकेट बोर्डका नयाँ डाइरेक्टरले नयाँ पारिश्रमिक संरचना ल्याउनुअघि अन्य देशको भुक्तानी संरचनाबारे पनि अध्ययन गरेको दाबी गरेका छन्। श्रीलंकाली क्रिकेट अधिकारीले भने हरेक खेलका साथै कोलम्बोबाहिरको भ्रमणका लागि छुट्टै भत्ता दिने आश्वासन दिइरहेका छन्। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App