१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

भोको पेटमै ओलम्पिक प्रशिक्षण

अब्राहिम माजोक माटेट ग्वायम पहिलो पटक ट्य्राकमा उत्रँदा आफ्नो स्कुलको कालो जुत्तामा दौडिएका थिए।२१ वर्षे ग्वायम अहिले दक्षिण सुडानबाट टोकियो ओलम्पिक २०२० मा प्रतिनिधित्व गर्र्र्दै छन्। उनी आफ्नो डेब्यु दौड प्रतियोगितामा यति तीव्र गतिमा दौडिए कि तुरुन्तै प्रशिक्षकको मन जिते। 

ग्वायमका लागि प्रशिक्षकले पोसाक र जुत्ताको व्यवस्था गरिदिए। ‘मैले प्रशिक्षकले व्यवस्था गरिदिएको जुत्ताबाट प्रशिक्षण सुरु गरें। त्यसपछि भने मैले प्रतियोगिता जितेबापत प्राप्त गर्ने पुरस्कार रकमले नयाँ जुत्ता किन्थें,’ग्वायमले भने। लगातारको सफलतासँगै अध्ययनरत विद्यालयले उनलाई छात्रवृत्ति प्रदान गर्‍यो। यद्यपि ग्वायमका लागि लगातार अभ्यास गरिरहन भने निकै चुनौतीपूर्ण रह्यो। कयौं दिन भोको पेटमै भए पनि उनले प्रचण्ड गर्मीमा अभ्यास गरे।

‘मलाई लाग्छ अझै पनि ६० प्रतिशत एथलेटिक्स खेलाडीसँग जुत्ता छैन र उनीहरू खाली खुट्टा दौडन बाध्य छन्,’ उनले भने। सन् २०११ मा दक्षिण सुडानले स्वतन्त्र राष्ट्रको मान्यता पायो। तर त्यसको दुई वर्षपछि नै त्यहाँ गृहयुद्ध सुरु भयो। जुन घटनामा करिब ४ लाख नागरिकले ज्यान गुमाए भने लाखाैं नागरिक अहिले पनि शरणार्थी जीवन बिताउन बाध्य छन्। कठिन स्थितिमा पनि ग्वायम दौडिरहे। सन् २०१९ मा मोरक्कोमा भएको अफ्रिकी खेलकुदमा उनी १५ सय मिटर दौडमा दक्षिण सुडानको राष्ट्रिय कीर्तिमान तोड्दै टोकियो ओलम्पिकका लागि छनोट  

भए। सन् २०१९ को नोभेम्बरयता ग्वायमसँगै दक्षिण सुडानका अन्य तीन एथलेटिक्स खेलाडी र प्रशिक्षक जापानको मयबासीमा टोकियो ओलम्पिकको तयारी गरिरहेका छन्। अहिले पनि जापानका अन्य सहर कोभिड १९ को माहामारीका कारण बन्दाबन्दीको अवस्थामा छन्। तर सानो सहर मयबासीमा भने कोभिड १९ को कुनै घटना देखिएको छैन। कोभिड १९ को विश्वव्यापी महामारीकै कारण प्रतियोगिता निर्धारित मितिभन्दा एक वर्ष पछि धकेलिएको थियो। यस सहरले डिसेम्बर २०२० मा प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि जुत्ता उपलब्ध गराउँदै ओलम्पिक अयोजनाप्रति समर्थन जारी रहेको दर्साएको थियो।

खेलकुद र एकता

ग्वायम र उनको टोलीको एउटै लक्ष्य छ, दक्षिण सुडानमा एकताको सन्देश पु¥याउने। ‘मैले कहिले पनि मेरो घरेलु सहर र राज्यको प्रतिनिधित्व गर्दै दौडमा भाग लिएको छैन। म सधैं राष्ट्रका लागि दौडिएको हुँ। म सबै नागरिक स्वतन्त्रतापूर्वक एकताको भावमा जोडिएको हेर्न चाहान्छु,’ उनले भने। दक्षिण सुडानले राष्ट्रिय एकता दिवसको अवसरमा खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ। जसलाई जापानिज इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाले आर्थिक सहयोग गर्दै आएको छ। यो महोत्सव पाँचांै संस्करणमा आइसकेको छ, जसले दक्षिण सुडानका युवा पुस्तालाई एकै स्थानमा ल्याएको छ।  

खेलकुद महोत्सवमा विभिन्न जातजातिबाट प्रतिनिधित्व गर्दै खेलाडीहरू सहभागी हुन्छन्। प्रतियोगिताअघि भने उनीहरू एक अर्कोसँग नजरसमेत जुधाउन रुचाउँदैनन्। तर यो खेलकुद मोहत्सव उनीहरूका लागि राष्ट्रिय एकताको सन्देश दिने साझा मैदान बनेको छ। ‘प्रतियोगिता अवधिभर उनीहरू एकै स्थानमा बस्छन्। एउटै भान्छामा खान्छन्। एकअर्कासँग मन खोलेर कुरा गर्छन् र एकअर्कोका बारेमा जानकारी लिन्छन्,’ सन् २०१६ मा सो महोत्सवमा सहभागिता जनाएका ग्वायमले भने, ‘खेलकुद एकतामा बाध्ने एक माध्यम हो, जुन दक्षिण सुडानजस्तो राष्ट्रका लागि अत्यावश्क छ। जब सधैं युद्ध हुन्छ। सबै जना अलगअलग हुन्छन्। कोही सँगै बस्नै पाउँदैन तर खेलकुद महोत्सवबाट फर्किंदा युवाहरूको मानसिकतामा पक्कै पनि परिवर्तन आएको हुनुपर्छ।’

टोकियो ओलम्पिक एक वर्षपछि धकेलिएसँगै एक वर्ष अभ्यासको थप समय पाएका ग्वायम र उनको टोली अहिले पनि कडा मिहिनेत गरिरहेका छन्। उनीहरू अभ्यासका लागि राम्रो वातावरण पाएको बताउँछन्। ग्वायमसँगै अभ्यासमा रहेका पारा ओलम्पिक खेलाडी ३० वर्षे माइकल माचइक जापानमा दुई पटक आफ्नो व्यक्तिगत कीर्तिमानमा सुधार गरेको बताउँछन्। ‘म आशावादी छु कि यहाँ मैले विश्वका शीर्ष पारा एथलेट्सलाई कडा चुनौती दिनेछु,’ माइकलले भने। ‘दक्षिण सुडानका खेलाडी हाम्रा लागि पराईजस्तो लाग्दैन। उनीहरू हाम्रो टोलका सदस्यजस्तो लाग्छ। उनीहरूलाई यहाँ सुपर हिरोका रूपमा हेरिन्छ,’ जाइकाका संयोजक सुन्या मेइताले भने।

आगामी वर्ष यी ४ खेलाडीसँगै अन्य दुई युवा खेलाडीलाई मयबासीमा अभ्यासका लागि बोलाइनेछ। जुन २३ मा ओलम्पिक उद्घाटन हुने निर्धारित तालिका रहे पनि प्रतियोगिता आयोजनामा भने अन्योल थपिएको छ। जापानले ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक, स्वयम्सेवकका साथै जापानी नागरिकलाई कोभिड १९ को संक्रमणबाट कसरी सुरक्षित राख्छ भन्ने अहिले सबैको चासोको विषय बनेको छ। टोकियोमा मे महिनासम्म संकटकाल घोषणा भइसकेको छ। जापान सरकारले अहिले सम्म १ सय २६ मिलियन जनसंख्यामा मात्र ४ मिलियन जनातालाई कोभिड १९ विरुद्धको भ्याक्सिन दिएको छ।  

ग्वायमलाई प्रतियोगिता अझै पर धकेलिन्छ कि भन्ने चिन्ता छ। ‘अहिले जापानमा दिनप्रतिदिन कोभिड १९ संक्रमितको संख्या बढिरहेको छ,’ उनले भने, ‘त्यसैले प्रतियोगिता निर्धारित मितिमा हँुदैन कि भन्ने डर छ। तर पनि ओलम्पिक आयोजना हुनेमा म आशावादी छु। म आफ्नो राष्ट्रका लागि दौडिरहेको छु। आशा छ दक्षिण सुडानमा छिट्टै शान्ति आउनेछ।’

प्रकाशित: ६ जेष्ठ २०७८ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App