२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपिएलका खेलाडीलाई घर फर्काउन सकस

कोरोना भाइरस महामारीका कारण स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल)का आफ्ना खेलाडीलाई भारतबाट देश फर्काउन विश्व क्रिकेटका महारथी अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ल्यान्ड क्रिकेटका अधिकारीहरू प्रयास गरिरहेका छन्।  

खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यस सिजनको आइपिएल मंगलबार स्थगित भएसँगै विश्व क्रिकेटका यी तीनै राष्ट्रले आफ्ना खेलाडीलाई सुरक्षित घर फर्काउन संघर्ष गरेका हुन्। पछिल्ला तीन दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक र दुई स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार आइपिएल स्थगित भएको थियो। यस आइपिएलका ६ राष्ट्रका ६१ विदेशी खेलाडीले आठ फ्रेन्चाइज टोलीबाट खेलेका थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) पनि कोरोनाको दोस्रो लहरका कारण निकै प्रताडित भारतबाट यी खेलाडीलाई सुरक्षित घर फर्काउने तयारी गरिरहेको छ।  

क्रिकेट अस्ट्रेलिया (सिए) ले स्टिभ स्मिथ र डेविड वार्नरलगायत आफ्ना देशका ३८ खेलाडी र स्टाफलाई २÷३ दिनभित्र माल्दिभ्स या श्रीलंका हुँदै घर फर्काउने तयारी गरेको हो। इङ्ल्यान्डका ११ खेलाडीमध्ये आठ खेलाडी भने लन्डन पुगिसकेका छन्। ती आठ खेलाडी भने सरकारले तय गरेको क्वारेन्टिनमा १० दिन बिताउनुपर्नेछ भने दुई पटकसम्म कोरोना परीक्षण हुनेछ। न्युजिल्यान्ड पनि आगामी महिना इङ्ल्यान्डमा हुने भारतसँगको विश्व टेस्ट च्याम्पियनसिप खेल्ने खेलाडीसहित अन्य खेलाडीलाई घर फर्काउने व्यवस्थापनमा जुटेको छ।  

बायो सेक्युर ‘बबल’ मा बसेका खेलाडीमा नै लगातार कोरोना संक्रमण देखिएपछि आगामी अक्टोबर–नोभेम्बरमा घरेलु भूमिमा हुने ट्वान्टी–२० विश्वकपको तयारी गरिरहेको भारतले अनिश्चितकालका लागि यस सिजन आइपिएल रोक्नु परेको थियो। तर, अस्ट्रेलियाले गत हप्ता नै भारतबाट आउने सबै उडामाथि मे १५ सम्मका लागि प्रतिबन्ध लगाएपछि अस्ट्रेलियन क्रिकेटर समस्यामा छन्। यद्यपि, यसअघि तीन अस्ट्रेलियन क्रिकेटर गत अप्रिलको अन्त्यमा दोहा हुँदै घर फर्किएका थिए। तर, बिसिसिआईको सहयोगमा खेलाडीलाई चार्टर फ्लाइटमार्फत घर फर्काइने सम्भावना पनि रहेको सिएले जनाएको छ।

‘सबै खेलाडी, प्रशिक्षक, कमेन्टेटर, अम्पायर र स्टाफलाई छिटोभन्दा छिटो घर फर्काउने व्यवस्थापन बिसिसिआई लागिरहेको छ,’सिएका अन्तरिम सिइओ निक हक्लेले भने, ‘भारतबाट जतिसक्दो छिटो खेलाडीलाई घर पठाउने काम भइरहेको छ। माल्दिभ्स या श्रीलंका हुँदै खेलाडी ल्याउने तयारी पनि भएको छ।’ यद्यपि, त्यो टोलीमा अस्ट्रेलियाका पूर्वखेलाडी एवम् चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइकल हसी भने हुने छैनन्। कोरोना संक्रमण पुष्टि भएकाले उनी भारतमा नै १० दिन आइसोलेसनमा बस्नेछन्।  

न्युजिल्यान्डले पनि केन विलियम्सन र ट्रेन्ट बोल्टलगायत खेलाडीलाई चार्टर फ्लाइटमार्पmत इङ्ल्यान्ड ल्याउने तयारी भएको जनाएको छ। यद्यपि, इङ्ल्यान्डले आफ्ना नागरिकलाई मात्र भारतबाट देशमा आउने अनुमति दिएको छ। जोस बटलर, क्रिस वक्स, जोनी बेयरस्टो, मोइन अली, साम र टम कुरान लन्डनको एक होटलमा १० दिन क्वारेन्टिनमा रहने इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जनाएको छ। विश्वकप विजेता इयान मोर्गान, डेविड मलान र क्रिस जोर्डन भने केही दिनमै इङ्ल्यान्ड फर्किनेछन्।

दक्षिण अफ्रिकाले पनि आफ्ना खेलाडीको सम्पर्कमै रहेको जनाएको छ। भारतमा दोस्रो चरणमा कोरोना लहर पैmलिएपछि गत अप्रिलदेखि आइपिएल सुरु भए पनि विभिन्न पक्षबाट आलोचना खेपेको थियो। भारतमा स्वास्थ्य सामाग्री नै अभाव देखिएको समय आइपिएलको सिजन नै रद्द हुने आँकलन पनि गरिएको छ। यस सिजन रद्द भएमा बिसिसिआईलाई दुई हजार करोड भारु नोक्सान हुने अनुमान गरिएको छ।

प्रकाशित: २३ वैशाख २०७८ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App