२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा रंगशाला बैशाख मसान्तसम्म बन्द

कोरोनाको संक्रमण बढेसँगै पोखरा रंगशालामा खेलकुदका गतिविधिमाथि रोक लगाइएको छ। जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले सूचना जारी गर्दै बैशाख मसान्तसम्म पोखरा रंगशाला बन्द गरिएको जनाएको छ। जिल्ला कार्यालय प्रमुख प्रकाश बराल र क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख लक्ष्मणप्रसाद योगीले सूचना जारी गर्दै बैशाख मसान्तसम्म खेलकुदका गतिविधि नगर्न उल्लेख गरिएको छ।  

पोखरा रंगशाला पूर्ण रुपमा बन्द भएको यो दोस्रो पटक हो। यसभन्दा अघि २०७६ चैतको दोस्रो सातादेखि बन्द गरिएको थियो। कोरोनाको महामारी फैलिएसँगै एक वर्ष अघि सरकारले नै लकडाउन घोषणा गरेपछि रंगशाला ठप्पै थियो। रंगशाला प्रवेशमै प्रतिबन्द लगाईएपछि बैशाखमा आयोजना गर्ने योजना बनाइएको राष्ट्रपति रनिङशिल्ड थप अन्यौलमा परेको छ।  

बैशाखयता कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि सरकारले स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ। २५ जना भन्दा बढी भीडभाड गर्न नपाउने निर्णय गरिसकेको छ। यद्यपी प्रतियोगितामा दर्शकविहीन आयोजना गर्न सकिने निर्देश गरेपनि पोखरा रंगशाला भने पूर्ण रुपमा बन्द गरिएको छ। ‘पोखरामा प्रतियोगिता यतिबेला छैनन। रंगशालामा पनि भीडभाड हुने भएकोले सरकारी निर्णयलाई पालना गर्दै रंगशालामा खेलकुद गतिविधि नगर्न सूचना जारी गरेका हौं।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने।  

पोखरा रंगशालामा यतिबेला नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थण्डर्सको टोली प्रशिक्षणरत थियो। त्यसैगरी ओलम्पिक गेम्सको तयारी रहेको आर्चरी टोलीले प्रशिक्षण गरेको छ। त्यसबाहेकका खेलकुदका गतिविधि आयोजना गरिएको थिएन। बैशाख ३ र ४ गते क्रिकेट आयोजना गरिएको थियो। त्यो नै पोखरा रंगशालाको अन्तिम प्रतिस्पर्धा थियो। बैशाख १० गते मुवाथाई प्रतियोगिता समेत आयोजनाको संघारमा थियो। प्रतियोगितालाई पछि सारिएको छ।  

स्वास्थ्यप्रतिको सचेतनाकै लागि पनि पोखरा रंगशालामा हुने भीडभाड न्युनिकरण गर्न पनि रंगशाला बन्द गरिएको कार्यालय प्रमुख बरालले सुनाए। ‘समूहमा हुने प्रशिक्षणकै कारण बालबालिका संक्रमण फैलिए त्यसको जिम्मेवारी कसले लिने?’ उनले प्रश्न गर्दै थपे–‘अहिले बालबालिकामा संक्रमण बढ्दै गएकोले पनि रंगशालामा प्रतियोगिता तथा प्रशिक्षण गतिविधि रोक्न सूचना जारी गरिएको हो।’

प्रकाशित: ९ वैशाख २०७८ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App