९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

५२ वर्षपछि लेस्टर फाइनलमा

केलिची इनाचोको गोलप्रेरित लेस्टर सिटी आइतबार साउथह्याम्पटनमाथि १–० को जितका साथ ५२ वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ।

साउथह्याम्पटन र लेस्टर सिटीबीच वेम्बलीमा भएको खेलमा चार हजार दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको थियो। आइतबार म्यानचेस्टर सिटी र टोटेनह्यामबीच हुने लिग कपको फाइनलमा ८ हजार समर्थकलाई मैदान प्रवेशको अनुमति दिइएको छ भने मे १५ मा लेस्टर र चेल्सीबीच हुने एफए कप फाइनलमा २१ हजार दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको छ।

‘मैदानमा ४ हजार मात्र दर्शक भए पनि त्यसले हामीलाई विशेष ऊर्जा दिएको थियो,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने, ‘समर्थकका साथ खेल्न पाउनु हाम्रा लागि सधैं विशेष हुने गर्दछ। हामीसामु इतिहास रच्ने अवसर छ। हामी इतिहास रच्न आतुर छाैं। यो उपाधि हाम्रा समर्थकका लागि विशेष हुनेछ।’

यता राल्फ हासेनहुल्टको टोलीले प्रिमियर लिगको पछिल्ला १४ खेलमा मात्र दुई खेल जितेको छ। ‘हामीले शतप्रतिशत प्रयास गर्‍यौं। तर लेस्टरविरुद्धको नतिजा आफ्नो पक्षमा पार्न भने असमर्थ रह्याैं,’ हासेनहुल्टले भने। लेस्टरको जितमा नायक बनेका इनाचोले फाइनलमा आफ्नो सपना साकार बनाउने अवसर रहेको बताएका छन्। ‘एफए कपले मलाई माया गर्छ र म एफए कपलाई माया गर्छु,’ इनाचोले भने, ‘म सानो छँदा एफए कप हेर्थें र अहिले सोही प्रतियोगिताको फाइनल खेल्ने अवसर जुरेको छ। यो मेरो लागि सपना साकार पार्ने अवसरसमेत हो।’

प्रकाशित: ७ वैशाख २०७८ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App