१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

सिलवाल, थापा र वैद्य विभूषित

नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य विभूषित भएका छन्।

उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक विशेष समारोहबीच खेलक्षेत्रमा योगदान गरेबापत पदक प्रदान गरिन्। सदस्यसचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र ओलम्पियन संगीना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए। 

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नतिजाका हिसाबले नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दा सदस्यसचिव सिलवाल सम्मानित भए। थापा समारोह विज्ञका रूपमा परिचित छन्। उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह व्यवस्थापनमा मुख्य जिम्मेवारीमा रहेर कार्य गरेका थिए। १३औं सागमा थापाले समारोह समितिमा सविच र निर्देशकको भूमिका निर्वाह गरेका थिए।

संगीना छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन्। संगीनाले सन् २००४ को ग्रिसमा भएको २८औं संस्करणको एथेन्स ओलम्पिकमा छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन्। सागको दुई संस्करण आठौं र नवौंकी स्वर्णधारी संगीना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी पनि स्वर्ण विजेता हुन्। 

प्रकाशित: २ वैशाख २०७८ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App