२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नागरिककर्मी सम्मानित

नागरिककर्मी सञ्जय थापा र वरिष्ठ पत्रकार अजय राणा मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा सम्मानित भएका छन्। नक्सालस्थित होटल क्राउन प्लाजामा आफ्नो १६औं साधारणसभाको अवसरमा मञ्चले अग्रज पत्रकारमा अजय राणा र अनुजमा नागरिककर्मी सञ्जय थापालाई सम्मान गरेको हो।

राणा एनएसजेएफ खेल पत्रकारिता र थापा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भए। मञ्चले हरेक वर्ष स्थापना दिवसका अवसरमा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका साथ आयोजना गर्ने सम्मानअन्तर्गत राणा र थापालाई सम्मानित गरेको थियो।  

दुवैलाई युवा तथा खेलकुदमन्त्री दावा तामाङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए। वरिष्ठ पत्रकार राणा २५ हजार नगदबाट सम्मानित हुँदा युवा पत्रकार थापालाई सम्मानबापत ल्यापटप प्रदान गरिएको थियो। युवा पत्रकार सम्मानको पुरस्कारका लागि खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय छाता संगठन एआइपिएस एसियाले रकम उपलब्ध गराएको हो। मंगलबार नै मञ्चले नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलाई स्वागत तथा बधाईसमेत दिएको थियो।

साथै मञ्चले महासंघका एसोसिएट सचिवमा निर्वाचित मञ्चका पूर्वप्रवक्ता पवन आचार्य तथा एसोसिएट केन्द्रीय सदस्यमा निर्वाचितद्वय विकास कार्की र कृति भट्टराईलाई सम्मानसमेत गरेको थियो। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीले महासंघका नवनिर्वाचित नेतृत्वलाई स्वागत तथा एसोसिएटलाई सम्मान गरेका थिए। 

मञ्चले आफ्नो साधारणसभाबाट विधानका विभिन्न बुँदाहरू संशोधन गर्दा संघीय संरचनामा जानका लागि पूर्वअध्यक्ष निरञ्जन राजवंशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरेको छ। उक्त कार्यदलले संघीय संरचनाको ढाँचा र स्वरूप निर्धारण गरेर प्रतिवेदन तयार पार्नेछ। साधारणसभाले संविधानको मर्मअनुसार मञ्चलाई संघीय संरचनामा लैजाने सैद्धान्तिक निर्णय गरेको छ।  

यस्तै, बैठकले मञ्चका पुराना सदस्यतालाई व्यवस्थित गर्न महासचिव तथा संगठन विभाग प्रमुख प्रज्वल ओलीको संयोजकत्वमा समिति गठन गरेको छ। साधारणसभाको बन्द सत्रले कोषाध्यक्ष अञ्जन खड्काले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र महासचिव प्रज्वल ओलीले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनलाई पारित गरेको थियो। सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कोभिडबाट खेलकुदलाई अघि बढाउने विषयमा सरकारले योजना बनाउनुपर्ने बताएका थिए। युवा तथा खेलकुदमन्त्री दावा लामाले मञ्चसँग सहकार्य गर्दै सरकार अघि बढ्न तयार रहेको उल्लेख गरे।

प्रकाशित: १ वैशाख २०७८ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App