१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

भलिबल च्याम्पियनसिप: बुलबुले राराको सुरुआत हारबाट

पाकिस्तानका तीन खेलाडी सम्मिलित बुलबुले रारा क्लबले पुनरागमनलाई निरन्तरता दिन नसक्दा हारबाट पाँचौं आरबिबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबारदेखि सुरु च्याम्पियनसिपको पुरुषतर्फ तीन विदेशी खेलाडीका साथ उत्रेको बुलबुलेले सशस्त्र प्रहरी बलको एपिएफसँग ३–१ को सेटमा हार बेहोरेको हो। 

ओपन स्पाइकर मुराद जेहान, हामेद रसिद र सेटर कासिफ नाभिदसहित कोर्टमा उत्रिएको बुलबुलेको सुरुआत भने राम्रो हुन सकेन। तर, दुई सेट गुमाए पनि बुलबुलेले पुनरागमनको संकेत गरेको थियो। रिसिभसँगै आपसी तालमेल मिल्न नसक्दा बुलबुलेले सुरुआती दुई सेट २५–२० र २८–२६ ले सहजै गुमाएको थियो। पाकिस्तानका स्पाइकर मुराद जेहानको उत्कृष्ट प्रदर्शनबाट बुलबुलेले तेस्रो सेट भने २५–१८ ले आफ्नो बनायो।

त्यससँगै विभागीय टोली एपिएफमाथि दबाब बनाइरहेको बुलबुलेले चौथो सेटमा सुखद सुरुआत गर्दै अग्रता लिए पनि लयलाई निरन्तरता दिन सकेन। चौथो सेटमा एक समय १८–१५ ले पछि परेको स्थितिलाई उल्ट्याउँदै बुलबुलेले २०–१८ को अग्रता लिएको थियो। यद्यपि, बुलबुलेले त्यो अग्रता गुमाउन पुग्यो र एपिएफले २३–२३ को स्थितिमा पुनरागमन गर्‍यो। निकै रोमाञ्चक बनेको उक्त सेटमा बुलबुलेले पटकपटक गेम पोइन्ट लिने अवसर गुमाउँदा एपिएफले त्यसको सदुपयोग गर्दै ३२–३० ले चौथो सेट आफ्नो बनायो।  

त्यस्तै नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको पहिलो दिनकै खेलमा नेपाल पुलिस क्लबको पुरुष टोलीले पनि सुखद सुरुआत गरेको छ। पुलिसले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। पुलिसले २५–९,  

२५–२१ र २५–१६ ले पराजित गर्दै लिगमा स्पष्ट तीन अंक बटुल्यो। तेस्रो विभागीय टोली आर्मीले पनि सुखद सुरुआत गर्ने क्रममा बुटवलको मणिमुकुन्द क्लबलाई ३–० को सोझो सेटमा हरायो। आर्मीले २५–१७, २५–१४, २५–२१ ले मणिमुकुन्दलाई हराएको थियो। महिलातर्फ बिहीबार भएको एक मात्र खेलमा होङ्वान्जी न्यु डायमन्ड स्पोटर््स क्लबले सफलता निकाल्दै महत्वपूर्ण तीन अंक बटुल्यो। एकतर्फी खेलमा डायमन्डले ढोरपाटन स्पोर्टस क्लबलाई २५–६, २५–२ र २५–५ ले सहजै पराजित गरेको थियो।  

च्याम्पियनसिपको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई भलिबल प्रदान गर्दै उद्घाटन गरेका थिए। आगामी चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। पुरुषतर्फ तीन विभागीयसहित हेल्प नेपाल स्पोर्ट्स, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। महिलातर्फ पनि तीन विभागीय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, न्यु डायमन्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् गरी ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।  

लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ। च्याम्पियनसिपमा पुरुष र महिला दुवैतका विजेताले तीन लाख, दोस्रो हुनेले एक लाख ७५ हजार, तेस्रोले ७५ हजार र चौथो हुने टोलीले ३७ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५ हजार रूपैयाँ प्राप्त गर्दा व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रूपैयाँ पाउनेछन्। संघले प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने जनाएको छ। 

प्रकाशित: २० चैत्र २०७७ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App