१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिदेशीय फुटबल प्रतियोगिता: किर्गिस्तानलाई कमजोर नआँक्ने

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानी युवा टोलीको सामना गर्दा उनीहरूलाई कमजोर नआँक्ने बताएका छन्। मंगलबारबाट सुरु प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु–२३ टोलीको सहभागिता छ।

मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो। नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानको सामना गर्दै छ। सिंगल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।  ‘हामीले मंगलबार बंगलादेश र किर्गिस्तानबीचको खेल हेर्‍यौं।

 किर्गिस्तानको युवा टोलीले सोचेअनुरूपको चुनौती दिन सकेन,’ महर्जनले भने, ‘तर बिहीबार उनीहरूविरुद्ध मैदान उत्रँदा हामी किर्गिस्तानको युवा टोलीलाई कमजोर टोलीका रूपमा लिँदैनौँ। हामी स्वाभाविक खेलका साथ प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छौं। हामी विगत तीन महिनादेखि लगातार विश्वकप छनोटको तयारीमा छौं, त्यसैले मेरो टोलीले उत्कृष्ट नतिजा दिनेमा म विश्वस्त छु। किर्गिस्तानले बंगलादेशविरुद्ध सोचेअनुरूप प्रदर्शन गर्न सकेन, तर यसको अर्थ हामी उनीहरूलाई कमजोर टोलीका रूपमा लिँदै मैदान उत्रँदैनौं।

‘पहिलो खेलमा पराजय व्यहोरेको किर्गिस्तानलाई फाइनल प्रवेशका लागि नेपालविरुद्ध जितबाहेकको विकल्प छैन,’ महर्जनले थपे, ‘त्यसैले उनीहरू हामीविरुद्ध आक्रामक रणनीतिका साथ मैदान उत्रने सम्भावना छ र हामी त्यसका लागि सचेत छौं। हामी दबाबरहित भएर खेल्नेछौं। हामी किर्गिस्तानविरुद्धको नतिजामा केन्द्रित छौं। त्यसपछि मात्र हामी बंगलादेशविरुद्धको खेलका बारेमा केन्द्रित हुन्छौं। हामीले सन्तुलित टोली घोषणा गरेका छौं।

टोलीमा केही नयाँ अनुहार पनि छन्। परिस्थितिअनुसार उनीहरूले राष्ट्रिय टोलीबाट डेब्यु गर्नेछन्। टोलीले उत्कृष्ट नतिजा ल्याउनेमा म विश्वस्त छु। हामी विश्वकप छनोटको तयारीमा छौं र यो प्रतियोगिता हाम्रा लागि राम्रो अभ्यास अवसर बन्न सक्छ। यता नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले ६ वर्षपछि घरेलु दर्शकमाझ सिनियर राष्ट्रिय टोलीबाट दशरथ रंगशाला फर्कन पाउँदा उत्साही भएको बताए।

‘किर्गिस्तान र बंगलादेश दुवै टोली राम्रा छन्, स्वाभाविक खेल खेल्दै सुखद नतिजा ल्याउनेमा आशाबादी छौं,’ किरणले भने। यता किर्गिस्तानका प्रशिक्षक जोल्दोसोब नुरबेकले बंगलादेशविरुद्धको खेलमा पराजित भएपछि युवा टोलीले सोचेअनुरूपको प्रदर्शन गर्न नसके पनि नेपालविरुद्धको खेलमा भने सुखद नतिजाका साथ फाइनल प्रवेशको सम्भावना जीवित राख्ने बताएका थिए।

प्रकाशित: १२ चैत्र २०७७ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App