६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सिर्जना कप छात्र–छात्रा भलिबल प्रतियोगिता आगामि साता

सिर्जना कपबारे जानकारी गराउँदै आयोजक । तस्बिर ः उमेश पुन÷नागरिक

पोखरामा चैतको दोश्रो साता सिर्जना कप सामुदायिक मावि छात्र–छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ११ गतेदेखि १४ गतेसम्म प्रतियोगिता हुने भएको हो ।  

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनवर्ष अघिदेखि शुरु भएको प्रतियोगिताको तेश्रो संस्करणको तयारी भइरहेको आयोजकले बताएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुनेछ । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीले मात्र सहभागिताता जनाउनेछन् । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि टिम लिएर तयार हुनुपर्ने केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयबाट खेलाडी उत्पादन शून्य प्रायः भएपछि भलिबलमा पुनःजागरण ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष भीम पराजुलीले बताए । ‘भलिबलको राष्ट्रिय टिममा हिजो कस्केली खेलाडीको वर्चस्व थियो,’ उनले भने, ‘तर अहिले त्यस्तो अवस्था छैन, खेलाडी उत्पादन ह्वात्तै घटेको छ, अझ सामुदायिक विद्यालयमा त भलिबल खेल खस्किएको छ । त्यहि खस्किएको भलिबललाई उकास्ने हाम्रो उद्देश्य र लक्ष्य हो,’उनले भने । प्रतियोगिताले खेलाडी उत्पादनमा मद्दत पुग्ने विश्वास रहेको उनले बताए । उनले थपे, ‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । प्रतियोगिताका लागि चैत ९ गतेसम्म नाम दर्ता गराउन सकिने र टिम दर्ताका लागि ३ हजार रुपैयाँ शुल्क लाग्ने सिर्जनाका अध्यक्ष पौडेलले बताए ।  

प्रतियोगितामा उपाधि बिजेता छात्र–छात्रा दुवै तर्फकालाई ७० हजार, उपविजेतालाई ३५ हजार र तृतीय विद्यालयलाई २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने पराजुलीले जानकारी दिए ।

प्रकाशित: ६ चैत्र २०७७ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App